जन आकाश
काठमाडौं । पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई प्रहरीले नियन्त्रणमा लिएको घटनाबारे प्रधानन्यायाधीश मनोजकुमार शर्मा र नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीबीच भेटवार्ता भएको छ।
मंगलबार अपराह्न करिब ४ बजे प्रधानन्यायाधीश शर्मालाई भेट्न आईजीपी कार्की सर्वोच्च अदालत पुगेका थिए। स्रोतका अनुसार भेट पौने ५ बजेसम्म चलेको थियो।
आइतबार मध्यराति पूर्वप्रधानन्यायाधीश जबरालाई प्रहरीले नियन्त्रणमा लिएको घटनाबारे बुझ्न प्रधानन्यायाधीश शर्माले आईजीपीलाई बोलाएका हुन्। भेटमा के–कस्ता विषयमा कुराकानी भयो भन्ने भने खुलेको छैन।
यसअघि सर्वोच्च अदालतले जबराको पक्राउबारे मुख्य रजिस्ट्रारमार्फत उनीसँग सत्यतथ्य बुझेको थियो। त्यसपछि सोमबार बसेको सर्वोच्च अदालतको पूर्ण बैठकले पक्राउको घटनालाई ‘स्वेच्छाचारिता’ भन्दै विरोध जनाएको थियो।
सर्वोच्चले विज्ञप्ति जारी गर्दै पूर्वप्रधानन्यायाधीश जबरालाई नियन्त्रणमा लिने प्रहरीको कदमप्रति आपत्ति जनाएको थियो।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend