जन आकाश
काठमाडौं । सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आगामी स्थानीय तह निर्वाचनलाई लक्षित गर्दै देशव्यापी पालिका केन्द्रित अभियान सञ्चालन गर्ने भएको छ।
संघीय संसद्को चालु अधिवेशन अन्त्य भएपछि रास्वपाका प्रतिनिधिसभा सदस्य र केन्द्रीय सदस्यहरूको टोली असोज २० गतेदेखि ७७ वटै जिल्लाका ७५३ पालिकामा पुग्ने भएको हो।
रास्वपा सहमहामन्त्री निशा डाँगीका अनुसार अभियानको उद्देश्य नागरिकका गुनासा र सुझाव सुन्नेमात्र नभई पार्टीका योजना, नीति र आगामी निर्वाचनको तयारीबारे नागरिकलाई जानकारी गराउनु पनि हो।
डाँगीले भिडियो सन्देशमार्फत रास्वपाका सम्पूर्ण केन्द्रीय सदस्य र सांसदहरू पालिकास्तरमा पुग्ने जानकारी दिएकी छन्।
उनका अनुसार अभियानका मुख्य दुई उद्देश्य छन्। पहिलो, स्थानीय तहको कामकारबाही तथा आगामी निर्वाचनमा उम्मेदवार छनोट गर्ने विधिबारे नागरिकलाई जानकारी गराउनु र दोस्रो, वर्तमान सरकार गठन भएको करिब ६ महिनामा संसद् तथा सरकारमार्फत भएका नीतिगत पहल र कामबारे जानकारी गराउनु हो।
आगामी फागुनमा हुने स्थानीय तह निर्वाचनका लागि सक्षम, इमानदार र नेतृत्व गर्न तयार व्यक्तिलाई उम्मेदवारका रूपमा अगाडि बढाउने विधिबारे समेत नागरिकलाई बुझाइने रास्वपाले जनाएको छ।
रास्वपाले यसअघि सार्वजनिक गरेको उम्मेदवार छनोटको रूपरेखाअन्तर्गत ‘क्यान्डिडेट क्लब’, ‘लिडरसिप एकेडेमी’ तथा लोकतान्त्रिक छनोट प्रक्रिया मार्फत उम्मेदवार छनोट गर्ने बताउँदै आएको छ।
त्यस्तै, सरकार गठन भएको करिब ६ महिनाको अवधिमा संसद् र सरकारबाट भएका नीतिगत पहल, नागरिकसँग गरिएका प्रतिबद्धताको कार्यान्वयन अवस्था तथा आगामी योजनाबारे पनि अभियानमार्फत जानकारी गराइने रास्वपाले जनाएको छ।
सहमहामन्त्री डाँगीका अनुसार यो अभियान चुनावी तयारीमा मात्र सीमित नभई स्थानीय सरकारलाई थप जवाफदेही बनाउने र नागरिकको सहभागितामा नेतृत्व छनोट गर्ने अभ्यासका रूपमा अघि बढाइनेछ
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend