logo शनिबार, कार्तिक ८ २०८३ | Saturday 24th October 2026

बाढी–पहिरोले अवरुद्ध टेलिकम सेवा तत्काल सञ्चालन गर्न सञ्चारमन्त्रीको निर्देशन


  • जन आकाश
  • बुधबार, असोज १४ २०८३

काठमाडौं । बाढी तथा पहिरोका कारण अवरुद्ध नेपाल टेलिकमको सेवा तत्काल पुनःसञ्चालन गर्न सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले निर्देशन दिएका छन्।



मन्त्रालयमा नेपाल टेलिकमको उच्च व्यवस्थापनसँग भएको छलफलमा मन्त्री तिमिल्सिनाले प्रभावित टावर तथा साइटको क्षति, सेवा पुनःस्थापनाको प्रगति र बाँकी कामबारे जानकारी लिँदै सञ्चार सेवा पुनःसञ्चालनलाई उच्च प्राथमिकता दिन निर्देशन दिएका हुन्।

सडक तथा विद्युत् संरचना क्षतिग्रस्त भएका स्थानमा वैकल्पिक उपाय अपनाएर भए पनि सेवा सञ्चालनमा ल्याउन उनले आग्रह गरेका छन्।

नेपाल टेलिकमका अनुसार असोज ८ देखि ११ गतेसम्म आएको बाढी–पहिरोका कारण विद्युत् आपूर्ति अवरुद्ध हुँदा १ हजार १३२ टावर प्रभावित भएका थिए। तीमध्ये १ हजार २ वटा साइट पुनःसञ्चालनमा आइसकेका छन् भने १३० वटा साइट अझै बन्द छन्।

सडकमार्गबाट पुग्न कठिन तथा तत्काल विद्युत् आपूर्ति सम्भव नभएका स्थानमा हेलिकप्टरमार्फत जेनेरेटर, आवश्यक उपकरण र प्राविधिक जनशक्ति पठाएर सेवा सञ्चालन गर्ने तयारी भइरहेको टेलिकमले जनाएको छ।

बाँकी प्रभावित साइटमा पनि प्राथमिकताका आधारमा प्राविधिक टोली परिचालन गरी सेवा पुनःस्थापनाको काम भइरहेको टेलिकमले जनाएको छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend