जन आकाश
काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले प्रधानमन्त्री वालेन्द्र शाहको भारत भ्रमणका लागि नेपाल र भारत दुवै पक्ष सकारात्मक रहेको बताएका छन्।
संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी भएर बुधबार स्वदेश फर्किने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा मन्त्री खनालले प्रधानमन्त्रीको भारत भ्रमणको मिति भने अझै तय नभएको जानकारी दिए।
उनका अनुसार सरकार गठन भएलगत्तै भारतबाट प्रधानमन्त्री शाहलाई भ्रमणको निम्तो प्राप्त भएको थियो। नेपालले निमन्त्रणालाई सकारात्मक रूपमा लिएको र उपयुक्त समयमा परिणाममुखी तथा अर्थपूर्ण भ्रमण गर्ने विषयमा दुवै पक्षबीच सकारात्मक छलफल भइरहेको उनले बताए।
मन्त्री खनालले सरकार बनेलगत्तै भारत र चीनसँगको सम्बन्धलाई प्राथमिकतामा राख्दै दुवै छिमेकी मुलुकसँग नेपालका प्राथमिकताका विषय स्पष्ट रूपमा प्रस्तुत गरिएको पनि बताए।
यस्तै, संयुक्त राष्ट्रसंघको महासभा नेपालको राष्ट्रिय हित प्रवर्द्धनका दृष्टिले फलदायी भएको उनको भनाइ छ। महासभाका क्रममा विभिन्न राष्ट्र तथा सरकार प्रमुख र परराष्ट्रमन्त्रीसँग भएका द्विपक्षीय तथा बहुपक्षीय भेटवार्तालाई नेपालको राष्ट्रिय स्वार्थ र प्राथमिकताका विषय उठाउन उपयोग गरिएको उनले बताए।
मन्त्री खनालले भोटेकोसी बाढीपछिको विपद् अवस्था तथा जलवायु परिवर्तनका कारण नेपालले भोगिरहेका चुनौतीलाई अन्तर्राष्ट्रिय मञ्चमा प्रस्तुत गरिएको जानकारी दिए।
सरकारले छिमेकी मुलुकसँगको सम्बन्धलाई उच्च प्राथमिकतामा राखेको उल्लेख गर्दै उनले आगामी भ्रमण तथा संवादले द्विपक्षीय सम्बन्धलाई थप सुदृढ र नतिजामूलक बनाउने विश्वास व्यक्त गरे।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend