जन आकाश
काठमाडौं । दुबईबाट तेल अभिभतर्फ उडेको फ्लाई दुबईको एफजेड–१०७३ विमानमा को–पाइलटले मुख्य पाइलटमाथि चक्कु प्रहार गरेपछि विमानमा ठूलो अफरातफरी मच्चिएको छ। विमानमा १७४ यात्रु सवार थिए।
उडानको करिब साढे दुई घण्टापछि ३३ हजार फिटको उचाइमा रहेको विमान अचानक उचाइ गुमाउन थालेको थियो। रोयटर्सका अनुसार विमान ३० सेकेन्डमै करिब १४ हजार फिट तल झरेको थियो भने दुई मिनेटमा झन्डै १७ हजार फिट उचाइ गुमाएको थियो।
घटनाका क्रममा मुख्य पाइलट घाइते भएर ककपिटमा ढलेका थिए। त्यसपछि केही यात्रु ककपिटमा प्रवेश गरी को–पाइलटलाई नियन्त्रणमा लिन सफल भएका थिए। यात्रुहरूले को–पाइलटलाई जिप टाइ र हेडफोनका तारले बाँधेर नियन्त्रणमा राखेका थिए।
संयोगले विमानमा दुई जना पाइलट यात्रुका रूपमा समेत सवार थिए। उनीहरूले ककपिट सम्हालेर विमानलाई इजरायलतर्फ जानबाट रोक्दै साउदी अरबको ताबुक विमानस्थलमा आकस्मिक अवतरण गराएका थिए।
घटनाका क्रममा विमानले ‘७७००’ र ‘७५००’ जस्ता आपत्कालीन संकेत प्रसारण गरेको थियो। ‘७५००’ संकेत विमानमा गैरकानुनी हस्तक्षेप वा अपहरणको आशंका जनाउने संकेत हो।
फ्लाई दुबईले ककपिटमा झडप भएको पुष्टि गरेको छ। को–पाइलटले किन मुख्य पाइलटमाथि आक्रमण गरे भन्ने विषयमा अनुसन्धान भइरहेको छ। घटनामा केही यात्रु पनि घाइते भएका छन् भने घाइते मुख्य पाइलटलाई उपचारका लागि लगिएको छ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend