जन आकाश
काठमाडौं । हिमालय एअरलाइन्स्ले नेपाल र चीनबीच हवाई सम्पर्क विस्तार गर्दै काठमाडौँ–हाङझाउ–काठमाडौँ सिधा उडान सुरु गरेको छ। सेप्टेम्बर ३०, २०२६ देखि सुरु भएको यो सेवा सातामा दुईवटा उडानका रूपमा सञ्चालनमा आएको हो।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हाङझाउ सियाओशान अन्तर्राष्ट्रिय विमानस्थलसम्मको उडान प्रत्येक आइतबार र बुधबार तथा हाङझाउबाट काठमाडौँ फर्कने उडान सोमबार र बिहीबार सञ्चालन हुनेछ।
उद्घाटन उडानअन्तर्गत हाङझाउबाट काठमाडौँ आएको विमानमा १५४ जना चिनियाँ पर्यटक सवार थिए। एअरलाइन्स्ले नयाँ रुटले नेपाल–चीनबीचको पर्यटन, व्यापार, सांस्कृतिक आदानप्रदान तथा जनस्तरको सम्बन्धलाई थप मजबुत बनाउने विश्वास व्यक्त गरेको छ।
हिमालय एअरलाइन्स्का उपाध्यक्ष तथा प्रवक्ता विजय श्रेष्ठका अनुसार कम्पनीले चीनका विभिन्न १० पर्यटकीय गन्तव्यमा उडान विस्तार गर्दै १० लाख चिनियाँ पर्यटकलाई नेपाल भित्र्याउने लक्ष्य राखेको छ। मागअनुसार आगामी दिनमा काठमाडौँ–हाङझाउ रुटमा उडान संख्या थप गर्ने योजना पनि एअरलाइन्स्को छ।
हिमालय एअरलाइन्स् नेपाल–चीन संयुक्त साझेदारीमा सन् २०१४ मा स्थापना भएको अन्तर्राष्ट्रिय वायुसेवा कम्पनी हो। कम्पनीले हाल चीनसहित दक्षिण एसिया र मध्यपूर्वका विभिन्न गन्तव्यमा यात्रुवाहक उडान सञ्चालन गर्दै आएको छ।
एअरलाइन्स्ले काठमाडौँ–हाङझाउ उडानको टिकट आफ्ना टिकट काउन्टर, आधिकारिक ट्राभल पार्टनर, वेबसाइट तथा मोबाइल एपमार्फत बुक गर्न सकिने जनाएको छ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend