logo शनिबार, कार्तिक ८ २०८३ | Saturday 24th October 2026

विदेशमा मृत्यु भएका नेपालीको शव ल्याउन सरकारसँग सांसद सुवेदीको माग


  • जन आकाश
  • बिहिबार, असोज १५ २०८३

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद कमल सुवेदीले विदेशमा मृत्यु भएका नेपालीको शव यथाशीघ्र नेपाल ल्याउन सरकारसँग माग गरेका छन्।



बुधबार प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद सुवेदीले दक्षिण कोरियामा अध्ययनरत दाङको बबई गाउँपालिका–४ का एकेन्द्र वली, मलेसियामा मृत्यु भएका शान्तिनगर गाउँपालिका–५ का वीरेन्द्र चौधरी र भारतको चण्डीगढमा मृत्यु भएकी शान्तिनगर–३ पातेटाकुराकी कमला विकको शव नेपाल ल्याउन आवश्यक प्रक्रिया र खर्चको व्यवस्था गर्न सरकारसँग आग्रह गरे।

उनले आर्थिक अवस्था कमजोर भएका परिवारले विदेशबाट शव ल्याउन ठूलो खर्च व्यहोर्न नसक्ने भन्दै सरकार नै उनीहरूको अन्तिम आशा भएको बताए।

यस्तै, लमही नगरपालिका–९ का दीपक चौधरी विगत ८ वर्षदेखि साउदी अरबको रियादमा रोजगारीका क्रममा रहेको र कामकै सिलसिलामा झुटो अभियोगमा जेल परेको विषय पनि सुवेदीले संसदमा उठाए।

विदेशमा भाषा र स्थानीय कानुन नबुझ्दा कानुनी समस्यामा परेका नेपालीको उद्धार तथा सहयोगका लागि श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय र परराष्ट्र मन्त्रालयको समन्वयमा विशेष कार्यदल गठन गर्न उनले माग गरे।

सुवेदीले विदेशमा रहेका नेपालीलाई आवश्यक कानुनी सहायता, उद्धार, स्वदेश फिर्ता तथा परिवारसँग समन्वयका लागि नेपाली दूतावासमार्फत स्थायी संयन्त्र बनाउनसमेत सरकारको ध्यानाकर्षण गराए।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend