जन आकाश
काठमाडौं । श्रम संस्कृति पार्टीका प्रमुख सचेतक आरेन राईले सरकारको कार्यसम्पादनप्रति असन्तुष्टि जनाउँदै जनताका जल्दाबल्दा समस्यामा परिणाममुखी काम गर्न ध्यानाकर्षण गराएका छन्।
बिहीबार प्रतिनिधिसभा बैठकमा बोल्दै राईले रेमिट्यान्समा निर्भर अर्थतन्त्र, युवा पलायन, बढ्दो महँगी र भ्रष्टाचारजस्ता विषयमा सरकारले पर्याप्त ध्यान नदिएको आरोप लगाए। उनले सरकारको सुशासनको प्रतिबद्धता नारामै सीमित भएको टिप्पणी गरे।
राईले निर्वाचन क्षेत्रका विकास निर्माणका काम अलपत्र परेको र सरकारी विद्यालयको गुणस्तर खस्किएको भन्दै शिक्षा क्षेत्रको बेथितिप्रति पनि सरकारको ध्यानाकर्षण गराए। गिरिबन्धु टी-स्टेट र ह्वाइटबडी काण्डलगायत पुराना भ्रष्टाचारका फाइल खोल्ने सरकारको दाबी कार्यान्वयन नभएको भन्दै उनले प्रश्न उठाए।
उनले सरकारलाई आफ्नो शक्ति प्रयोग गरी भ्रष्टाचारमा संलग्नलाई कारबाही गर्न चुनौती दिँदै आफ्नो पार्टी त्यस्तो प्रक्रियामा सहयोग गर्न तयार रहेको बताए। साथै, फ्री भिसा–फ्री टिकट, किसानका समस्या र अन्य जनसरोकारका विषयमा सरकारले टालटुले काम गरेको आरोप लगाए।
जेनजी आन्दोलनमाथि दमन गरेको भन्दै सरकारको आलोचना गरेका राईले सदन बन्द रहेको समयमा संघीयता, लोकतन्त्र र समावेशिताविरुद्ध कुनै पनि कदम नचाल्न सरकारलाई सचेत गराए।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend