logo शनिबार, कार्तिक ८ २०८३ | Saturday 24th October 2026

प्रधानमन्त्री शाहद्वारा बाढीपहिरोपछि अष्ट्रेलियाले गरेको सहयोगप्रति आभार


  • जन आकाश
  • बिहिबार, असोज १५ २०८३

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले नेपालमा हालै आएको बाढीपहिरोपछि अष्ट्रेलिया सरकारले देखाएको मित्रता, एक्यबद्धता र सहयोगप्रति कृतज्ञता व्यक्त गरेका छन्।



नेपालका लागि अष्ट्रेलियाका राजदूत साइमन अर्न्स्टसँग सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भएको शिष्टाचार भेटमा प्रधानमन्त्री शाहले बाढीपहिरोबाट ठूलो जनधनको क्षति भएको जानकारी दिँदै सरकारले खोज, उद्धार, राहत तथा पुनःस्थापनाका लागि सम्पूर्ण स्रोतसाधन परिचालन गरिरहेको बताए।

बाढीपहिरोपछि अष्ट्रेलियाले विशेषज्ञ ड्रोन अपरेटर, राहत सामग्रीसहित १७ सदस्यीय विपद् सहकार्य तथा प्रतिकार्य टोली नेपाल पठाएकोमा प्रधानमन्त्री शाहले प्रशंसा गरे। अष्ट्रेलियाले उपलब्ध गराएको ११ मिलियन अष्ट्रेलियन डलर सहयोग दुई देशबीचको प्रगाढ सम्बन्धको प्रतीक भएको उनको भनाइ थियो।

बाढीका कारण बेपत्ता भएका अष्ट्रेलियन नागरिकको खोजीलाई नेपाल सरकारले उच्च प्राथमिकतामा राखेर काम गरिरहेको पनि प्रधानमन्त्री शाहले बताए। साथै, मानव संसाधन विकासमा अष्ट्रेलियाले गर्दै आएको निरन्तर सहयोगका लागि उनले धन्यवाद दिए।

भेटमा राजदूत अर्न्स्टले बाढीपहिरोबाट नेपालमा भएको क्षतिप्रति समवेदना व्यक्त गर्दै हालै संयुक्त राष्ट्रसंघमा नेपालको प्रभावकारी उपस्थितिको प्रशंसा गरेका थिए।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend