जन आकाश
काठमाडौं । सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद समीक्षा बास्कोटाले लामो समयदेखि अलपत्र रहेका संक्रमणकालीन न्यायसम्बन्धी फाइल तत्काल खोल्न सरकारको ध्यानाकर्षण गराएकी छन्।
बिहीबार प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद बास्कोटाले विगत दुई दशकदेखि शान्ति, गृह तथा कानून मन्त्रालयमा थन्किएका संक्रमणकालीन न्यायसम्बन्धी फाइललाई प्राथमिकतामा राखेर अघि बढाउन माग गरिन्।
लामो समयदेखि पीडितहरू न्यायको पर्खाइमा रहे पनि प्रशासनिक ढिलासुस्तीका कारण प्रक्रिया अघि बढ्न नसकेको उनको भनाइ छ।
त्यस्तै, विगत एक वर्षदेखि गृह मन्त्रालयमा अड्किएको ‘जेन–जी’ आन्दोलनसँग सम्बन्धित फाइलसमेत तत्काल निर्णय प्रक्रियामा लैजान उनले माग गरिन्।
सरकारले सात दिनभित्र प्रत्येक फाइल निर्णयार्थ अघि बढाउने प्रतिबद्धता जनाएको विषय सकारात्मक रहेको उल्लेख गर्दै बास्कोटाले प्रतिबद्धता व्यवहारमै कार्यान्वयन हुनुपर्ने बताइन्। उनले फाइल कहाँ र कुन अवस्थामा छन् भन्ने विषय स्पष्ट हुनुपर्नेमा जोड दिँदै पीडितले न्याय पाउने विश्वास व्यक्त गरिन्।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend