logo शुक्रबार, असोज १६ २०८३ | Friday 2nd October 2026
logo

शुक्रबार, असोज १६ २०८३ | Friday 2nd October 2026

अपाङ्गता भएका व्यक्तिका लागि व्यक्तिगत सहयोगी सेवा सञ्चालन कार्यविधि तयार


  • जन आकाश
  • बिहिबार, असोज १५ २०८३

काठमाडौं । सरकारले पूर्ण तथा अतिअशक्त अपाङ्गता भएका व्यक्तिका लागि व्यक्तिगत सहयोगी सेवा सञ्चालनसम्बन्धी कार्यविधिको मस्यौदा तयार गरी रायसुझावका लागि अर्थ मन्त्रालयमा पठाएको छ।



राष्ट्रियसभाको बिहीबारको बैठकमा सांसदको प्रश्नको जवाफ दिँदै महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक तथा सामाजिक सुरक्षामन्त्री सीता बादीले कार्यविधिको मस्यौदा तयार गरी अर्थ मन्त्रालयमा पठाइएको जानकारी दिइन्।

उनका अनुसार अपाङ्गता भएका व्यक्तिको अधिकारसम्बन्धी ऐन, २०७४ र नियमावली, २०७७ अनुसार सामुदायिक सहायता तथा व्यक्तिगत सहयोगी सेवा कार्यान्वयनका लागि चालु आर्थिक वर्षमा अध्ययन गरिनेछ।

अध्ययनमा व्यक्तिगत सहयोगी सेवाको आवश्यकता, सेवा लिने व्यक्तिको अवस्था, सेवा प्रदायकको भूमिका, सेवा सञ्चालनका मापदण्ड, आर्थिक दायित्व तथा कार्यान्वयनको प्रभावकारितालगायत विषय समेटिनेछ।

मन्त्री बादीले अपाङ्गता व्यवस्थापन सूचना प्रणालीलाई सामाजिक सूचना व्यवस्थापन प्रणालीमा एकीकृत गरी ७५३ वटै स्थानीय तहमा विस्तार गर्ने काम भइरहेको पनि बताइन्। यसबाट व्यक्तिगत सहयोगी सेवा आवश्यक पर्ने व्यक्तिको पहिचान तथा आवश्यकताको मूल्याङ्कनमा सहयोग पुग्ने उनको भनाइ छ।

उनले सेवा प्रभावकारी, पारदर्शी, पहुँचयोग्य र दिगो बनाउन आवश्यक कानुनी तथा संस्थागत व्यवस्था गरिने जानकारी दिइन्।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend