जन आकाश
काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशन असोज १८ देखि २२ गतेसम्म काठमाडौंको खुलामञ्चमा हुँदैछ। महाधिवेशनबाट दुई जना महामन्त्री निर्वाचित हुने भए पनि हालसम्म १२ जना नेता महामन्त्री पदका आकांक्षी देखिएका छन्।
गत पुसमा सम्पन्न विशेष महाधिवेशनबाट महामन्त्री बनेका प्रदीप पौडेल र गुरुराज घिमिरेले १५औँ महाधिवेशनबाट पनि महामन्त्रीमा दोहोरिने इच्छा राखेका छन्।
त्यस्तै, सहमहामन्त्रीहरू उदयशमशेर राणा, डिला संग्रौला र प्रकाश रसाइली ‘स्नेही’, निवर्तमान सहमहामन्त्री जीवन परियार तथा पार्टी प्रवक्ता देवराज चालिसे पनि महामन्त्रीका आकांक्षी छन्।
केन्द्रीय सदस्यहरू रामहरि खतिवडा, नैनसिंह महर, मधु आचार्य र आङ्गेलु शेर्पा तथा लुम्बिनी प्रदेश सभापति अमरसिंह पुन मगर पनि महामन्त्रीको दौडमा छन्।
महामन्त्रीका आकांक्षीहरूले जिल्ला दौडाहासमेत सुरु गरेका छन्। नैनसिंह महर विभिन्न जिल्लामा पुगेर नेता–कार्यकर्तासँग भेटघाट गरिरहेका छन्।
आकांक्षीको संख्या धेरै भए पनि नेतृत्व तहमा सहमतिको प्रयास भइरहेको कांग्रेस नेताहरूले बताएका छन्। सहमति हुन नसके महामन्त्रीका दुई पदका लागि निर्वाचन हुने छ। कांग्रेसको १५औँ महाधिवेशनबाट २३१ सदस्यीय केन्द्रीय कार्यसमिति निर्वाचित हुनेछ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend