जन आकाश
काठमाडौं । नेपाली नागरिकका नाममा व्यापारिक फर्म दर्ता गरी चिनियाँ नागरिकले व्यवसाय सञ्चालन गरिरहेको घटना विराटनगरमा लगातार देखिन थालेको छ।
विराटनगर महानगरपालिका–२ स्थित एभरपिक सप्लायर्समा सोमबार गरिएको अनुगमनका क्रममा नेपाली नागरिक राधिका बस्नेत कार्कीको नाममा दर्ता रहेको फर्मको दैनिक कारोबार चिनियाँ नागरिक ली जोसिज्याकले सञ्चालन गरिरहेको भेटिएको हो।
जिल्ला प्रशासन कार्यालय मोरङ, वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय र आन्तरिक राजस्व कार्यालयको संयुक्त टोलीले अनुगमन गर्दा ली सामान बिक्री गरिरहेको अवस्थामा भेटिएकी थिइन्। टोलीले खरिद बिल, सामान आयातको स्रोत तथा व्यवसाय सञ्चालनसम्बन्धी कागजात माग्दा उनले आवश्यक कागजात देखाउन नसकेको बताइएको छ।
प्रहरीले लीलाई नियन्त्रणमा लिएर भिसाको सर्तविपरीत व्यापारिक गतिविधिमा संलग्न भएको विषयमा थप अनुसन्धानका लागि काठमाडौंस्थित अध्यागमन विभाग पठाएको छ।
यसअघि असोज ८ गते विराटनगर–७ स्थित सेन्ट्रल मलमा सञ्चालित ‘योनो मार्ट’ पनि नेपाली नागरिक धिरेन बीकको नाममा दर्ता भए पनि चिनियाँ नागरिक सीए जिङलानले सञ्चालन गरेको भेटिएको थियो। अनुगमनका क्रममा प्यान वा भ्याट बिलबिना कारोबार भइरहेको पाइएपछि मार्ट सिल गरिएको थियो।
अनुसन्धानका क्रममा जिङलान चीनबाट सामान आयात गर्ने, मूल्य निर्धारण गर्ने, व्यवस्थापन तथा नगद कारोबार सम्हाल्ने गरेको खुलेको वाणिज्य कार्यालयले जनाएको छ।
सरकारी अभिलेखअनुसार जिङलान काठमाडौंमा दर्ता रहेको तोङ आइटी ग्रुप प्रालिकी २० प्रतिशत सेयरधनीसमेत हुन्। तर विराटनगरमा उनी सूचना प्रविधिको कामभन्दा कस्मेटिक, खेलौना तथा घरायसी सामानको खुद्रा व्यापारमा संलग्न रहेको अनुसन्धानबाट खुलेको छ।
विदेशी लगानीसम्बन्धी कानुनअनुसार विदेशी लगानी खुला नगरिएको क्षेत्रमा खुद्रा व्यापारसमेत पर्ने भएकाले दुवै घटनामा विदेशी नागरिकको प्रत्यक्ष वा अप्रत्यक्ष संलग्नताबारे अनुसन्धान भइरहेको अधिकारीहरूले बताएका छन्।
अनुसन्धानका क्रममा चीनबाट सामान आयात गर्दा न्यून बिजकीकरण गरिएको हो कि होइन, कारोबारमा हुन्डी प्रयोग भएको छ कि छैन तथा बिक्रीबाट संकलित रकम अनौपचारिक माध्यमबाट विदेश पठाइएको छ कि छैन भन्ने विषयसमेत हेरिएको छ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend