जन आकाश
काठमाडौं । दसैं नजिकिँदै गर्दा चीनसँगका उत्तरी नाका बन्द हुँदा बजारमा उपभोग्य वस्तुको मूल्य बढेको र नेपाली व्यापारीका सामान सीमापारि अड्किएको भन्दै नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का प्रमुख सचेतक युवराज दुलालले सरकारको ध्यानाकर्षण गराएका छन्।
प्रतिनिधिसभाको बिहीबारको बैठकमा बोल्दै दुलालले रसुवागढी र केरुङ नाका बन्द हुँदा दसैंका लागि सामान आयात गर्न समस्या भएको बताए। नाका बन्द हुँदा उपभोग्य वस्तुको आपूर्ति प्रभावित हुनुका साथै ढुवानी लागतसमेत बढेको उनको भनाइ छ।
दुलालले चीनका विभिन्न क्षेत्रमा करोडौं लगानी गरेर सामान ल्याउने तयारी गरेका नेपाली व्यापारीका सामान सीमापारि नै अड्किएको बताए। केरुङ नाका खुले पनि उच्च हिमाली क्षेत्रमा अत्यधिक चिसोका कारण ढुवानीमा थप समस्या हुने र त्यसले लागत बढाउने उनको भनाइ छ।
उनले नेपाल र चीनको संयुक्त टोलीले स्थलगत अध्ययन गरे पनि तातोपानी नाका बन्द हुनुको कारण सडकको अवस्थामात्र नभएको बताए।
उत्तरी नाका बन्द हुँदा व्यापार तथा आपूर्ति व्यवस्थामा परेको असर समाधान गर्न सरकारले तत्काल उच्चस्तरीय कूटनीतिक पहल गर्नुपर्ने दुलालको माग छ। उनले चीनसँग संवाद गरी नाका सञ्चालनमा ल्याउन सरकारसँग आग्रह गरेका छन्।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend