logo शुक्रबार, असोज १६ २०८३ | Friday 2nd October 2026
logo

शुक्रबार, असोज १६ २०८३ | Friday 2nd October 2026

राष्ट्रियसभाका रिक्त दुवै पद यथाशीघ्र पूर्ति गर्ने सरकारको तयारी


  • जन आकाश
  • बिहिबार, असोज १५ २०८३

काठमाडौं । सरकारले राष्ट्रियसभामा रिक्त रहेका दुवै सदस्यको पद यथाशीघ्र पूर्ति गर्न आवश्यक प्रक्रिया अघि बढाउने भएको छ।



राष्ट्रियसभाको आजको बैठकमा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री वालेन्द्र शाहका तर्फबाट कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले निर्वाचित सदस्यतर्फको रिक्त पदका लागि निर्वाचन आयोगले प्रचलित कानुनअनुसार उपनिर्वाचन प्रक्रिया अघि बढाइरहेको जानकारी दिइन्।

उनका अनुसार राष्ट्रपतिबाट मनोनित हुने सदस्यको पदपूर्तिका लागि संविधानले परिकल्पना गरेको समावेशिता, योग्यता, राष्ट्रिय जीवनमा पुर्‍याएको योगदान तथा राष्ट्रियसभाको गरिमा र भूमिकालाई ध्यानमा राखी उपयुक्त व्यक्तिको सिफारिस गर्ने प्रक्रिया पनि यथाशीघ्र टुंग्याइनेछ।

मन्त्री गौतमले राजनीतिक तथा सरकार परिवर्तनको सङ्क्रमणकालीन अवस्थाका कारण मनोनित सदस्यको पदपूर्ति समयमै हुन नसकेको बताइन्। संसद्का सदस्यको पद लामो समयसम्म रिक्त राख्नु उपयुक्त नहुनेमा सरकार सचेत रहेको उनको भनाइ छ।

उनले आगामी दिनमा संघीय संसद्, निर्वाचन आयोग तथा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबीच प्रभावकारी समन्वय गरी राष्ट्रियसभामा पद रिक्त भएपछि पदपूर्तिका लागि आवश्यक सिफारिस वा निर्वाचन प्रक्रिया समयमै अघि बढाइने बताइन्।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend