logo शुक्रबार, असोज १६ २०८३ | Friday 2nd October 2026
logo

शुक्रबार, असोज १६ २०८३ | Friday 2nd October 2026

नेपाल इन्जिनियरिङ कलेजको ३३औँ वार्षिकोत्सव सम्पन्न भएको छ 


  • जन आकाश
  • बिहिबार, असोज १५ २०८३

भक्तपुर  । भक्तपुरमा स्थापित गैरनाफामूलक सामाजिक शैक्षिक संस्थाका रूपमा २०५१ सालमा स्थापना भएको नेपाल इन्जिनियरिङ कलेजले आज ३३औँ वार्षिकोत्सव मनाएको हो । कलेजले ३२ वर्ष पूरा गरी ३३ वर्ष प्रवेश गरेको अवसरमा शुक्रबार आयोजित वार्षिकोत्सव समारोहमा सहभागीहरूले कलेजको स्थापनाको उद्देश्य, नेपालको इन्जिनियरिङ शिक्षामा पुर्‍याएको योगदान तथा दक्ष प्राविधिक जनशक्ति उत्पादनमा खेलेको भूमिकाको चर्चा गरेका छन् ।



कार्यक्रममा बोल्दै कलेजका संस्थापक अध्यक्ष स्वर्गीय प्रा.डा. दीपक भट्टराईका सुपुत्र तथा कलेजका पूर्वविद्यार्थी इन्जिनियर सलिल भट्टराईले नेपाल इन्जिनियरिङ कलेजले देशको इन्जिनियरिङ शिक्षाको विकाससँगै दक्ष प्राविधिक जनशक्ति उत्पादनमा महत्वपूर्ण योगदान पुर्‍याएको भनाई राखेका छन् । बदलिँदो समय र प्रविधिको विकाससँगै कलेजलाई पनि समयानुकूल रूपमा अघि बढाउनुपर्नेमा उनले जोड दिदै भने कलेजमा नयाँ पाठ्यक्रम तथा विषय थप गर्नुपर्ने, आधुनिक भौतिक पूर्वाधार निर्माण गर्नुपर्ने, नवीनतम अनुसन्धानका कार्यक्रम सञ्चालन गर्नुपर्ने तथा शिक्षकहरूको वृत्ति विकासमा विशेष ध्यान दिनुपर्ने आवश्यकता र कानुनी विषयसमेत समाधानउन्मुख हुँदै गएको उल्लेख गर्दै चालु आर्थिक वर्षभित्रै समस्या समाधान हुने अवस्था रहेको बताए । कलेज सामाजिक संस्था भएकोमा कुनै द्विविधा नरहेको उल्लेख गर्दै भट्टराईले कानुनी प्रक्रियाको अन्तिम परिणाम कलेजकै हितमा आउने, कलेजको उज्ज्वल भविष्यका लागि शिक्षक, कर्मचारी र विद्यार्थीले सकारात्मक वातावरण निर्माणमा योगदान दिन उनले आग्रह गरेका थिए ।

कार्यक्रममा कलेज सञ्चालक समितिकी शिक्षक प्रतिनिधि सदस्य प्राध्यापक सावित्री त्रिपाठीले कुनैपनि शैक्षिक संस्था बलियो बनाउन शिक्षक, कर्मचारी, विद्यार्थी र व्यवस्थापनबीच आपसी समन्वय, कार्यगत एकता र पारदर्शिता आवश्यक रहेको बताईन । संस्थाको हितलाई केन्द्रमा राखेर सबै पक्षबीच सहकार्य र संवादको वातावरण बनाउनुपर्नेमा सावित्रीको भनाइ थियो । विद्यार्थीको उत्तीर्ण संख्याले मात्रै कलेजको शैक्षिक स्तर मापन हुने त्यसका लागि उनीहरू कत्तिको दक्ष र सक्षम भए भन्ने विषय महत्वपूर्ण हुने उनले उल्लेख गरेको थियो ।

त्यस्तै, कलेज सञ्चालन समिति सदस्य दिनेश खनालले विद्यार्थीलाई गुणस्तरीय शिक्षा प्रदान गर्दै कलेजको स्थायित्व र समग्र विकासका लागि सञ्चालक समिति निरन्तर क्रियाशील रहेको छ भन्दै उनले शिक्षक, विद्यार्थी र कर्मचारीबीच सहकार्य र समन्वय कायम गर्दै कलेजको श्रीवृद्धिमा योगदान गर्न आग्रह गरेका थिए ।

कलेजका सहायक प्राचार्य मोहनध्वज केसीले कलेज स्थापनाको पृष्ठभूमिबारे जानकारी दिँदै स्थापनाकालदेखि नै नेपालका लागि आवश्यक दक्ष इन्जिनियर उत्पादनमा कलेजले योगदान दिँदै आएको छ। आगामी दिनमा भौतिक पूर्वाधार विस्तारसँगै नयाँ शैक्षिक कार्यक्रम सञ्चालन गर्ने र बढीभन्दा बढी विद्यार्थीलाई गुणस्तरीय तथा व्यावहारिक इन्जिनियरिङ शिक्षा प्रदान गर्ने दिशामा अघि बढ्नुपर्नेमा उनले जोड दिएका थिए ।

कलेजका प्राचार्य दुर्गाप्रसाद भण्डारीले कलेजलाई थप उत्कृष्ट र प्रतिस्पर्धी शैक्षिक संस्थाका रूपमा विकास गर्ने उद्देश्यसहित आफूहरू अघि बढिरहेको बताए । आगामी दिनमा नयाँ पूर्वाधार निर्माण तथा नयाँ पाठ्यक्रम र विषय थप गर्ने योजना रहेको प्रचार्यले कार्यक्रममा जानकारी दिएका थिए ।

प्राचार्य भण्डारीका अनुसार विगतमा कलेजको सञ्चालन खर्च र आम्दानीबीच ठूलो अन्तर रहे पनि पछिल्ला दुई शैक्षिक सत्रमा उल्लेख्य संख्यामा विद्यार्थी भर्ना हुनु तथा आर्थिक मितव्ययिता अपनाइएकाले कलेज क्रमशः आर्थिक रूपमा दिगो बन्दै गएको छ । अबको प्राथमिकता शैक्षिक स्तर सुधार, नयाँ विषय थप, अनुसन्धानका कार्यक्रम विस्तार, अन्तर्राष्ट्रिय शैक्षिक संस्था तथा विश्वविद्यालयसँग सहकार्य बढाउने र शिक्षक–कर्मचारीको वृत्ति विकासमा केन्द्रित हुने उनको भनाई थियो ।

वार्षिकोत्सवका अवसरमा कलेजमा २० वर्षभन्दा बढी समय योगदान पुर्‍याएका शिक्षक तथा कर्मचारीलाई सम्मानसमेत गरिएको थियो । सम्मानित हुनेमा सह(प्राध्यापक रुपेश दही श्रेष्ठ, प्रशासन सहायक कृष्ण महर्जन, वरिष्ठ सुरक्षाकर्मी राजन कार्कीलाई सम्मान गरिएको थियो ।

३२ वर्षको शैक्षिक यात्रामा हजारौँ दक्ष इन्जिनियर उत्पादन गरेको नेपाल इन्जिनियरिङ कलेजले आगामी दिनमा प्रविधिको तीव्र विकास, अनुसन्धानमुखी शिक्षा र अन्तर्राष्ट्रिय सहकार्यलाई प्राथमिकतामा राख्दै आफूलाई थप सुदृढ बनाउने प्रतिबद्धता जनाएको छ । वार्षिकोत्सव समारोहले कलेजको विगतको योगदानको स्मरणसँगै भविष्यको शैक्षिक यात्राका लागि नयाँ लक्ष्य र प्राथमिकता दिइने कार्यक्रमा जानकारी गराइएको थियो ।

https://www.facebook.com/share/v/1dNu9xHAGq/

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend