जन आकाश
काठमाडौं । नेपाल इन्जिनियरिङ कलेज र सिर्जनशील नेपाल बीच सम्झौता भएको छ । उक्त सम्झौता इन्जिनियरिङ अध्ययन गर्ने विद्यार्थीहरुलाई छात्रवृत्ति प्रदान गर्ने सवालमा समझदारी हो। मुनाफारहित सामाजिक शैक्षिक संस्थाका रुपमा सञ्चालित कलेज र शिक्षा तथा बालबालिकाहरुको क्षेत्रमा सक्रिय सिर्जनशील नेपाल विच जेहेन्दार, मेहनती विद्यार्थीहरुलाई इन्जिनियरिङ शिक्षामा पहुँच स्थापित गराउने उद्देश्यले शैक्षिक समझदारी कायम गरिएको कलेजले जानकारी दिएको छ ।
समझदारी पत्रमा कलेजका सहायक प्राचार्य मोहनध्वज केसी तथा सिर्जनशील नेपालका सचिब नेत्र प्रसाद उपाध्यायले हस्ताक्षर गरी उक्त सम्झौतालाई आधिकारिता दिएका हुन्। बुधबार कलेजमा सम्पन्न समझदारी पत्रमा हस्तान्तरण गर्दै सिर्जनशील नेपालका सचिब उपाध्यायले उच्च शिक्षा हासिल गर्न योग्य तर आर्थिक र पारिवारिक रुपमा कमजोर छात्राहरुलाई इन्जिनियरिङ शिक्षा दिन यो समझदारीले महत्वपूर्ण भूमिका निर्वाह गरेको बताए । समझदारी अनुसार संस्थाले एक जना छात्रालाई सम्पूर्ण शैक्षिक छात्रवृत्ति प्रदान गर्नेछ ।
चालू शैक्षिक सत्रका लागि संस्थाले आर्किटेक्चरमा अध्ययनरत एक छात्रालाई पूर्ण छात्रवृत्ति प्रदान गरेको कलेजका सहायक प्राचार्य मोहनध्वज केसीले उल्लेख गरेका छन् । उनले इन्जिनियरिङ शिक्षामा गरिब, विपन्न त्यसमाथि छात्राहरुको पहुँच स्थापित गर्न संस्थाले गरेको योगदानको प्रशंसा गरेका छन् । कलेजका अनुसार आर्किटेक्चरको ५ वर्षे कोर्षको शुल्कमा कलेजले पनि छुट गरिदिँदा बाँकी रकम सिर्जनशील नेपालले ब्यहोरिदिएको छ ।
मुनाफारहित सामाजिक शैक्षिक संस्था भएकाले कलेजले हरेक वर्ष इन्जिनियरिङका विभिन्न विधाहरुमा १५ करोड बराबरको छात्रवृत्ति प्रदान गर्दै आइरहेको छ । सिर्जनशील नेपालले जेहेन्दार तर, आर्थिक र पारिवारिक रूपमा कमजोर बालबालिकाहरूलाई उच्च शिक्षा हासिल गर्ने अवसर दिएको छ । संस्थाले काठमाडौंका विभिन्न कलेजहरूमा ५५ जना भन्दा बढी विद्यार्थीहरूलाई छात्रवृत्तिमा अध्ययन गराइरहेको छ ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend