जन आकाश
काठमाडौं । सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टीकी सचेतक क्रान्तिशिखा धितालले देशमा भइरहेका शृङ्खलाबद्ध घटनामा राज्य र समाजको क्षणिक चासोप्रति गम्भीर प्रश्न उठाएकी छन्।
शुक्रबार प्रतिनिधिसभा बैठकमा बोल्दै धितालले एउटा घटनाको पीडा सेलाउन नपाउँदै अर्को घटना चर्चामा आउने प्रवृत्तिले अघिल्लो घटनाका पीडितको न्याय र खोजी ओझेलमा पर्ने गरेको बताइन्।
उनले पछिल्ला विभिन्न घटनाको उदाहरण दिँदै नयाँ ‘ट्रेन्ड’सँगै न्यायका मुद्दासमेत प्रतिस्थापित हुने अवस्था देखिएको भन्दै नागरिकका पीडामा राज्यले विभेद गर्न नहुने बताइन्।
धितालले जेन–जी आन्दोलन, मधेसको साम्प्रदायिक दङ्गा, गणेशको आत्मदाह, गरिमाको बलात्कारपछि हत्या तथा रसुवाको बाढीजस्ता घटनाको चर्चा गर्दै सुकुमबासीका समस्या र बाढीमा बेपत्ता भएका बालबालिकाको खोजीसमेत ओझेलमा परेको बताइन्।
उनले भनिन्, ‘देशमा एउटा दुःख आउँछ, केही दिन हामी चासो दिन्छौँ। तर अर्को घटना सार्वजनिक हुनासाथ अघिल्लो पीडा बिस्तारै ओझेलमा पर्छ। हामीलाई एक प्रकारले दुःखको लत लागेको छ।’
राज्य अरूको दुःखमा केही समयका लागि सहानुभूति देखाउने मात्र नभई पीडितको जीवन सामान्य नहुँदासम्म निरन्तर साथ र सहयोग गर्ने आधार बन्नुपर्ने उनको भनाइ छ।
धितालले राज्यको उपस्थिति औपचारिकतामा मात्र सीमित हुन नहुने भन्दै पीडितको जीवनमा वास्तविक र सकारात्मक परिवर्तन ल्याउने गरी परिणाममुखी ढङ्गले काम गर्न सरकारसँग जोडदार माग गरिन्।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend