जन आकाश
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद इन्दिरा राना मगरले झापाका जनता जंगली हात्तीको त्रास र सुकुम्बासी समस्याबाट गम्भीर रूपमा प्रभावित भएको भन्दै सरकारको ध्यानाकर्षण गराएकी छन्।
शुक्रबार प्रतिनिधिसभा बैठकमा बोल्दै उनले दसैँ नजिकिँदै गर्दा किसानहरू बाली जोगाउन रातभर जाग्राम बस्नुपर्ने अवस्था रहेको बताइन्। बाली भित्र्याउने समयमा हात्तीले पुर्याउने क्षति नियन्त्रणसँगै पीडित किसानलाई तत्काल राहत उपलब्ध गराउन उनले सरकारसँग माग गरिन्।
सांसद राना मगरले हात्ती नियन्त्रणका लागि सरकारले गर्दै आएका प्रयास प्रभावकारी हुन नसकेको टिप्पणी गर्दै ठोस र दीर्घकालीन योजना बनाएर समस्या समाधान गर्नुपर्ने बताइन्।
त्यस्तै, झापाका जग्गाविहीन तथा सुकुम्बासी नागरिकको समस्या पनि गम्भीर रहेको उनले बताइन्। जग्गाको निस्सा पाइसकेका नागरिकलाई पुनः नापीको नाममा दुःख दिने काम भइरहेको भन्दै उनले असन्तुष्टि जनाइन्।
केही स्थानीय तहबाट ‘माथिबाट आदेश आएको’ भन्दै नागरिकमा अन्योल सिर्जना भइरहेको जनगुनासो आएको उल्लेख गर्दै उनले सम्बन्धित मन्त्रालयले यसबारे स्पष्ट धारणा सार्वजनिक गर्नुपर्ने बताइन्।
उनले भनिन्, ‘किसानहरू अहिले बाली जोगाउन रातभर निद्रा त्यागेर हात्ती रुङ्न बाध्य छन्, तर सरकारबाट ठोस राहतको प्रत्याभूति हुन सकेको छैन। निस्सा पाइसकेका सुकुम्बासीले अब छिटो लालपुर्जा पाउनुपर्छ। प्रक्रियामाथि प्रक्रिया थपेर उनीहरूलाई थप कष्ट दिनु हुँदैन।’
राना मगरले हात्तीबाट पीडित किसानलाई अविलम्ब उचित राहत उपलब्ध गराउन तथा लालपुर्जाको प्रतीक्षामा रहेका सुकुम्बासी नागरिकलाई तत्काल स्वामित्वको प्रमाणपत्र प्रदान गर्न सरकारले स्पष्ट कार्ययोजना ल्याउनुपर्ने माग गरिन्।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend