जन आकाश
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद अच्युतम लामिछानेले सांसदहरूको भूमिका आफ्नो निर्वाचन क्षेत्रमा बजेट माग्ने काममा मात्र सीमित हुन नहुने बताएका छन्। शुक्रबार प्रतिनिधिसभा बैठकमा बोल्दै लामिछानेले सांसदहरूले राष्ट्रिय अर्थतन्त्र बलियो बनाउने र राज्यको ढुकुटी भर्ने नीति निर्माणमा ध्यान केन्द्रित गर्नुपर्ने बताए।
आफ्नो निर्वाचन क्षेत्रको विकासका लागि बजेट माग्नु स्वाभाविक भए पनि देशको समग्र आर्थिक अवस्थाप्रति सांसदहरू गम्भीर हुनुपर्ने उनको भनाइ छ। ‘भकारी रित्तो राखेर निरन्तर अन्न मागिरहने हो भने एक दिन भकारी नै रित्तिन्छ’ भन्दै उनले नीति निर्माण तहमा रहेका जनप्रतिनिधिको मुख्य जिम्मेवारी राष्ट्रिय ढुकुटी जोगाउनु र भर्ने नीति बनाउनु रहेको बताए।
लामिछानेले आगामी हिउँदे अधिवेशनलाई केवल विधेयक पारित गर्ने परम्परागत प्रक्रियामा सीमित नराखी उत्पादन वृद्धि, रोजगारी सिर्जना, लगानी आकर्षण र निर्यात प्रवर्द्धन गर्ने ठोस नीति निर्माणको केन्द्र बनाउन सरकार र संसद्लाई आग्रह गरे।
उनले भने, ‘हामी केवल राज्यको ढुकुटीबाट माग्ने प्रतिनिधि मात्र होइनौँ, त्यो ढुकुटी भर्ने नीति बनाउने जिम्मेवार प्रतिनिधि पनि हौँ।’
निर्वाचन क्षेत्रमा एउटा योजना पुग्दा तत्काल केही नागरिक लाभान्वित भए पनि राष्ट्रिय अर्थतन्त्र बलियो बनाउने नीतिले सिङ्गो देश र भावी पुस्तालाई दीर्घकालीन लाभ पुग्ने तर्क उनले गरे।
आगामी संसदीय प्राथमिकतामा राष्ट्रिय ढुकुटी बलियो बनाउने र लगानी तथा उत्पादनमैत्री आर्थिक वातावरण निर्माण गर्ने नीतिलाई प्रमुख एजेण्डा बनाउनुपर्नेमा लामिछानेले जोड दिए।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend