logo शुक्रबार, असोज १६ २०८३ | Friday 2nd October 2026
logo

शुक्रबार, असोज १६ २०८३ | Friday 2nd October 2026

बालिका र महिलामाथिको हिंसा रोक्न राज्य, समाज र व्यक्ति तीनै तहबाट लड्नुपर्छ : अनुष्का श्रेष्ठ


  • जन आकाश
  • शुक्रबार, असोज १६ २०८३

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद अनुष्का श्रेष्ठले बालिका तथा महिलामाथि हुने जघन्य अपराध र यौन हिंसाको बढ्दो समस्याप्रति सरकारको ध्यानाकर्षण गराएकी छन्।



शुक्रबार प्रतिनिधिसभा बैठकमा बोल्दै श्रेष्ठले यसअघि संसदमा उठाइएको तीन वर्षीया बालिकामाथिको बलात्कारको घटनासहित बालिका तथा महिलामाथि हुने हिंसाका विषयमा सरकारले गरिरहेको कामबारे जानकारी मागिन्।

उनले यसअघि उक्त घटना संसदमा उठेपछि सरकारले देखाएको तत्काल प्रतिक्रियाप्रति धन्यवाद दिँदै त्यस विषयमा तयार भएको भनिएको प्रतिवेदनमाथि के काम भइरहेको छ भन्ने स्पष्ट जानकारी दिन सरकारसँग आग्रह गरिन्।

श्रेष्ठले भनिन्, ‘यो विषय हाम्रो प्राथमिकताबाट हराएको छैन भन्नेमा म विश्वस्त छु। यसमा तयार भएको भनिएको अपेक्षित प्रतिवेदनमाथि के काम हुँदैछ, त्यो जान्न चाहन्छु।’

भारतमा उठिरहेका महिला हिंसाविरुद्धका आवाज तथा विभिन्न विश्वविद्यालयमा भएका घटनासँग जोडिएको आक्रोशको प्रसंग उल्लेख गर्दै उनले महिला तथा बालिकामाथिको यौन हिंसा कुनै एक समाज वा समुदायको मात्र समस्या नभएको बताइन्।

फरक समाज र समुदायमा यस्ता घटना दोहोरिनुले समस्या गम्भीर र बहुआयामिक रहेको देखाउने उनको भनाइ थियो।

श्रेष्ठले महिला तथा बालिकामाथिको हिंसा अन्त्यका लागि राज्यको कानुनी तथा संस्थागत प्रयाससँगै सामाजिक चेतना र व्यक्तिगत जिम्मेवारीसमेत आवश्यक रहेको बताइन्।

उनले यो लडाइँ राज्य, समाज र व्यक्ति—तीनै मोर्चाबाट एकसाथ अघि बढाउनुपर्नेमा जोड दिइन्।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend