logo आइतबार, असोज १८ २०८३ | Sunday 4th October 2026

एलपी ग्यासको अभाव घट्दै, उपत्यकामा दैनिक ६०,७० हजार सिलिन्डर आपूर्ति


  • जन आकाश
  • शुक्रबार, असोज १६ २०८३

काठमाडौं । काठमाडौँ उपत्यकासहित देशभर देखिएको खाना पकाउने एलपी ग्यासको अभाव क्रमशः हट्दै गएको नेपाल एलपी ग्यास उद्योग संघले जनाएको छ। संघका अध्यक्ष दिवानबहादुर चन्दका अनुसार भारतका विभिन्न रिफाइनरीबाट अहिले दैनिक १२५ देखि १३० बुलेट ग्यास नेपाल भित्रिरहेको छ। त्यसमध्ये काठमाडौँ उपत्यकामा मात्रै दैनिक करिब ६० बुलेट अर्थात् ६० देखि ७० हजार सिलिन्डर बराबर ग्यास आपूर्ति भइरहेको छ।



उनका अनुसार काठमाडौँको सामान्य दैनिक खपत करिब ४० हजार सिलिन्डर हो। तर, अभावका कारण यसअघि उपभोक्ताका घरमा खाली सिलिन्डर थुप्रिएकाले अहिले मागभन्दा बढी ग्यास आपूर्ति गर्दा पनि बजार सामान्य हुन केही दिन लाग्ने भएको हो।

संघका अनुसार भारतको बरौनी रिफाइनरीबाट दैनिक २० देखि २५ बुलेट ग्यास सिधै काठमाडौँ पठाइएको छ। पारादीपबाट आउने करिब ६० बुलेटमध्ये ५० प्रतिशत ग्याससमेत काठमाडौँका लागि छुट्याइएको छ।

यद्यपि, भारतको दुर्गापुरस्थित प्लान्टको पाइपलाइनमा आगलागी तथा प्राविधिक समस्या आएका कारण त्यहाँबाट भने आपूर्ति अझै सुरु हुन सकेको छैन। पाइपलाइन मर्मत सकिएपछि त्यहाँबाट पनि नियमित आपूर्ति हुने संघले जनाएको छ।

अध्यक्ष चन्दले बजारमा ग्यासको आपूर्ति पर्याप्त भए पनि उपभोक्ताले सहज रूपमा सिलिन्डर नपाउनुमा वितरण प्रणालीको कमजोरी र केही डिलरको मनोमानी मुख्य कारण रहेको बताए।

उनका अनुसार माग बढ्नेबित्तिकै केही डिलरले कमिसन जोगाउन साना किराना पसलमा ग्यास नदिई आफ्नै काउन्टरबाट मात्र बिक्री गर्ने गरेका छन्। त्यसका कारण टोलका साना पसलबाट ग्यास खरिद गर्ने उपभोक्ता बढी प्रभावित भएको उनको भनाइ छ।

चन्दले बजारमा पर्याप्त ग्यास हुँदाहुँदै पनि वितरण प्रणाली व्यवस्थित गर्न नसक्दा कृत्रिम अभावजस्तो अवस्था देखिएको भन्दै डिलर तथा वितरण प्रणालीलाई थप व्यवस्थित बनाउनुपर्नेमा जोड दिएका छन्।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend