जन आकाश
काठमाडौ । राष्ट्रिय सुसेली फाउन्डेसनले यही २०८३ असोज १६ गते शुक्रबार चौरासीयौं अनलाइन कार्यक्रममा जन आकाश मिडियाका सस्थापक आजिवन सदस्य दुर्गा अधिकारी भमरकोटेको अध्यक्षतामा सम्पन्न भएको छ ।
यहि असोज १६ गते शुक्रबार फाउन्डेसनले आउँदै गरेका महान पर्वहरूको शुभकामना आदानप्रदान तथा सुसेली गायन र वाचनको कार्यक्रम गरेको हो ।
जन आकाश मिडियाका सास्थापक आजिवन सदस्य सुसेली फाउन्डेसनका संस्थापक अध्यक्ष एवम् सुसेली विधाका प्रवर्तक दुर्गा अधिकारी ‘भमरकोटे’ को संयोजनका साथै सभापतित्वमा सञ्चालन भएको उक्त कार्यक्रमको सञ्चालन संस्थाकी संस्थापक केन्द्रीय उपाध्यक्ष सुशीला ढकाल अधिकारीले गरेकी थिइन ।
आउँदै गरेका महान पर्वहरूको शुभकामना विशेष सुसेली गायन र वाचन कार्यक्रममा सरिक २५ जना कवि साहित्यकारहरूद्वारा त्रिपदीय नेपाली लोकलय, पुर्वीय, पश्चिमी, भजन र दोहोरीका लयमा रचना गरि महान चाडपर्वको महत्त्व र महिमा, यो बर्षको अविरल वर्षा र बाढीपहिरोका कारण हुन गएको धनजनको क्षतिले पर्व मान्न सहज नहुने अवस्थाका विषय र पर्व मनाउँदा हुने दुःखद क्षणको आकलनसहित समसामयिक तथा व्यङ्ग्यात्मक सुसेलीहरू गायन/वाचन भएको थियो ।
विशिष्ट अतिथि फाउन्डेसनका संरक्षक एवम् संस्थापक केन्द्रीय सल्लाहकार चन्द्रा न्यौपानेले देश पूरै शोकमा डुबेको यस दु:ख परिस्थितिमा पनि आफ्नो संस्कृति धान्न पनि आ-आफ्नो गच्छेअनुसार चाडबाड मान्नु पर्ने यथार्थ चित्रण गर्दै कार्यक्रममा सहभागीहरूद्वारा वाचित सुसेलीहरू सधैंभन्दा अझ प्रतीकात्मक, बिम्बात्मक एवम् सुन्दर भएकामा प्रशंसा गरेकी थिइन। उनले देशमा आइपरेको अहिलेको विषम परिस्थितिका दशैँ एवम् आउँदा चाडबाडका लागि शुभकामना सुसेलीहरू गाएकी थिइन ।
अर्का विशिष्ट अतिथि कलानिधि दाहालले कार्यक्रममा पूरै समय दिएर सबैका सुन्दर तथा गहन सुसेलीहरू सुन्न पाउँदा खुसी लागेको र सुसेलीले लोभलाग्दो किसिमले प्रगति गरिरहेकोमा हार्दिक बधाई एवम् सम्पूर्ण सहयोगी तथा सहभागीहरूमा आउँदै गरेका पर्वहरूको शुभकामना दिँदै आफ्ना शुभकामना सुसेलीहरू लयमा गाएर सुनाएका थिए।
अर्का विशिष्ट अतिथि डा. बमबहादुर थापा जितालीले आजको सुसेली कार्यक्रम विशेष रहेको र मीठा सुसेलीले भरपूर भएकोमा खुसी व्यक्त गरेर सबैलाई बधाई दिँदै आफूले रचेका शुभकामना सुसेली गाएर सुनाएका थिए।
यस्तै अर्का विशिष्ट अतिथि डा. देवी पन्थीले सबैमा आउँदै गरेका चाडपर्वको शुभकामनाका साथ सुसेली गाएर सुनाउनु सुनाए।
यसैगरी अर्का विशिष्ट अतिथि डा. ज्ञाननिष्ठ ज्ञवालीले भरखरैबाट सुसेली लेख्न सुरु गरेको भए पनि पहिलो प्रहरमै सुसेलीले मोहनी लगाएको छ भन्दै एक वर्षभित्र नै सुसेलीको पुस्तक प्रकाशित गर्ने सोच आएको बताउदै आफ्ना शुभकामना सुसेली गाएर सुनाए।
कार्यक्रममा उपस्थित थप अतिथि कवि साहित्यकारहरू जानुका थापा रायमाझी, कल्पना दाहाल, उत्तम विचार भेटवाल, टेकबहादुर लौंडारी, डिल्लीप्रसाद मूलतिहुन, रामशरण न्यौपाने, सुधा बास्कोटा ढकाल, विश्वनाथ ढुङ्गेल, वासुदेव ठकुरी, पवनकुमार बुढाथोकी, ध्रुवराज थापा पुरुष, घनश्याम पौडेल, द्वारिका कुइकेल, रामप्रसाद अधिकारी, विनुबाबा घिमिरेलगायत रहेका थिए।
कार्यक्रममा सहभागी सबैले आ-आफ्ना सुसेलीहरू गायनका साथमा आउँदै गरेका महान पर्वहरूका लागि हार्दिक तथा मङ्गलमय शुभकामना व्यक्त गरेका थिए।
अन्त्यमा कार्यक्रमका सभापति भमरकोटेले साहित्यकारहरूलाई यसरी कार्यक्रममा स्वागत गर्न पाएकोमा आफूलाई अत्यन्तै खुसी लागेको बताए ।
यसैगरी उनले विशिष्ट अतिथि ज्यूहरूबाट सुसेली विधाका लागि अत्यन्तै अनुकरणीय शिक्षाप्रद उपयोगी भनाइहरू प्राप्त भएको र कार्यक्रमलाई भव्य, सभ्य एवम् रम्य तवरमा सम्पन्न गर्न सहयोग गर्नुहुने सबैलाई धन्यवाद दिए।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend