जन आकाश
-जयराम बिडारी
असोज १७,काठमाडौँ
युद्धप्रसाद मिश्र स्मृति प्रतिष्ठानको आयोजनामा स्रष्टा नम्रता गुरागाईँद्वारा रचित निबन्धसङ्ग्रह ‘भूगोलका सपनाहरू’ को लोकार्पण, परिचर्चा तथा आसन्न पर्वहरूको शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ । काठमाडौँस्थित पद्मकन्या बहुमुखी क्याम्पसको डेनिस हलमा उक्त विशेष समारोह सम्पन्न भएको हो ।
प्रतिष्ठानका अध्यक्ष प्रा.डा. लेखप्रसाद निरौलाको अध्यक्षता तथा विख्यात भाषाविद्, सशक्त निबन्धकार एवम् समालोचक प्रा.डा. माधवप्रसाद पोखरेलको प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न भएको थियो ।
कार्यक्रममा प्रमुख अतिथि प्रा.डा. पोखरेलले लोकार्पित कृतिले नेपाली अस्मिता भूगोलबाहिर पुगे पनि मातृभूमिप्रतिको दायित्व र ममता नछुट्ने कुरा पुष्टि गरेको बताउनुभयो । परदेशको जीवनभोगाइ र संवेदनालाई निबन्धमा सुन्दर ढङ्गले उतारिएको उल्लेख गर्दै उहाँले स्रष्टा गुरागाईँको लेखन ऊर्जाको निरन्तरताका लागि शुभकामना व्यक्त गर्नुभयो ।
कृतिमाथि समीक्षात्मक टिप्पणी राख्दै समालोचक डा. गीता त्रिपाठी र डा. फणीन्द्रराज निरौलाले सङ्ग्रहभित्रका २६ वटा निबन्धहरूमा आख्यानात्मकता, संस्मरण, प्रतिरोधी चेतना, र सहज भाषाशैली पाइने बताउनुभयो । अमेरिकाको व्यस्त एवम् यान्त्रिक जीवनका बीचबाट सिर्जित यी निबन्धहरूमा मानवीय संवेदना, संस्कृति, र भोगाइका विविधता समेटिएको समीक्षकहरूको भनाइ थियो ।
समारोहमा पूर्वमन्त्री एवम् साहित्यकार शान्ता मानवी, पूर्वमन्त्री केशव बडाल, माननीय गुरु बराल, प्रा.डा. जीवेन्द्र देव गिरी, दायित्व वाङ्मय प्रतिष्ठानका अध्यक्ष रामप्रसाद पन्त, प्रकाशक केशव पराजुलीलगायतका वक्ताहरूले स्रष्टा गुरागाईँलाई बधाई दिँदै शुभकामना व्यक्त गर्नुभएको थियो । पुस्तककी सर्जक एवं निबन्धकार नम्रता गुरागाईँले अमेरिकामा बसेर सिर्जना गरिएका निबन्धहरूमार्फत पाठकको मनसम्म पुग्ने प्रयास गरेको बताउँदै उपस्थित सबैप्रति आभार व्यक्त गर्नुभयो ।
राष्ट्रिय गान र कविवर युद्धप्रसाद मिश्रको तस्बिरमा माल्यार्पण गरी सुरु गरिएको उक्त कार्यक्रममा उपाध्यक्ष नन्दु उप्रेतीले स्वागत मन्तव्य राख्नुभएको थियो । कार्यक्रममा बडादसैँ, तिहार, छठ तथा इदजस्ता चाडबाडका अवसरमा संस्थागत शुभकामना आदानप्रदानको संस्कृति विकास गर्ने उद्देश्यसहित विभिन्न साहित्यिक एवम् सामाजिक व्यक्तित्वहरूको बाक्लो उपस्थिति रहेको थियो ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend