logo शनिबार, कार्तिक ८ २०८३ | Saturday 24th October 2026

स्थानीय तह निर्वाचन लक्षित गर्दै रास्वपाले जिल्लाजिल्लामा नेता खटाउने


  • जन आकाश
  • आइतबार, असोज १८ २०८३

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी स्थानीय तह निर्वाचनलाई केन्द्रित गर्दै देशभरका जिल्लामा आफ्ना नेताहरूलाई जिम्मेवारी तोकेको छ।



रास्वपाले असोज २० देखि २७ गतेसम्म एक साताका लागि प्रदेशअनुसार विभिन्न जिल्लामा नेताहरू खटाउने भएको हो। खटिएका नेताहरूले स्थानीय तह निर्वाचन केन्द्रित गतिविधि, संगठन विस्तार तथा पार्टीको अभियान सञ्चालन गर्नेछन्।

रास्वपा सहमहामन्त्री निशा डाँगीका अनुसार अभियानको मुख्य उद्देश्य नागरिकका कुरा सुन्नुका साथै पार्टीका धारणा र सरकारले गरेका कामबारे जनतालाई जानकारी गराउनु हो।

अभियानका दुई मुख्य उद्देश्य रहेको रास्वपाले जनाएको छ। पहिलो, स्थानीय तहको कामकारबाही र आगामी निर्वाचनमा उम्मेदवार छनोट गर्ने लोकतान्त्रिक विधिबारे नागरिकलाई जानकारी गराउने। दोस्रो, वर्तमान सरकार गठन भएको करिब ६ महिनाको अवधिमा संसद् र सरकारमार्फत भएका नीतिगत तथा अन्य पहल र उपलब्धिबारे नागरिकलाई जानकारी दिने।

रास्वपाले नागरिकको दैनिकी र विकाससँग प्रत्यक्ष जोडिएको स्थानीय सरकारबारे पार्टीको धारणा स्पष्ट पार्ने जनाएको छ। साथै, नागरिकसँग गरिएका प्रतिबद्धताको कार्यान्वयन अवस्था, हालसम्म भएका काम र आगामी योजनाबारे पारदर्शी रूपमा जानकारी गराउने गरी अभियान सञ्चालन गर्न लागिएको जनाएको छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend