logo शनिबार, कार्तिक ८ २०८३ | Saturday 24th October 2026

कांग्रेसको १५औँ महाधिवेशनमा १८ नयाँ अभ्यास : युवादेखि डिजिटल मतदानसम्म


  • जन आकाश
  • आइतबार, असोज १८ २०८३

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशन यसअघिका महाधिवेशनभन्दा केही फरक हुने भएको छ। विशेष महाधिवेशनबाट विधानमा गरिएको संशोधन कार्यान्वयन गर्दै यसपटक युवा, महिला तथा विभिन्न समुदायको प्रतिनिधित्व बढाउनेदेखि महाधिवेशन सञ्चालन र प्रचारशैलीमा समेत नयाँ अभ्यास गर्न लागिएको छ।



कांग्रेसको १५औँ महाधिवेशनमा देखिने प्रमुख नयाँ पक्षहरू यस्ता छन्—

१. ३५ वर्षमुनिका युवाको सुनिश्चित प्रतिनिधित्व
वडादेखि केन्द्रसम्म ३५ वर्षमुनिका युवाको सहभागिता बढाउने व्यवस्था गरिएको छ।

२. केन्द्रमा २१ युवा सदस्य
केन्द्रीय कार्यसमितिमा ३५ वर्षमुनिका २१ जना युवा सदस्य निर्वाचित हुने व्यवस्था गरिएको छ।

३. महिलालाई कम्तीमा एकतिहाइ प्रतिनिधित्व
विभिन्न तहका कार्यसमितिमा महिलाको कम्तीमा एकतिहाइ प्रतिनिधित्व सुनिश्चित गर्ने व्यवस्था गरिएको छ।

४. सहमहामन्त्रीको संख्या ११
सहमहामन्त्रीको संख्या आठबाट बढाएर ११ पुर्‍याइएको छ।

५. ‘ल्याटरल इन्ट्री’को व्यवस्था
विभिन्न पेसा, व्यवसाय र क्षेत्रमा विज्ञता हासिल गरेका व्यक्तिलाई पनि पार्टीको केन्द्रीय नेतृत्वमा ल्याउने बाटो खोलिएको छ। यसअन्तर्गत सात जना केन्द्रीय सदस्य निर्वाचित हुनेछन्।

६. विदेशस्थित कांग्रेसजनलाई केन्द्रमा प्रतिनिधित्व
नेपाली जनसम्पर्क समितिबाट आएका महाधिवेशन प्रतिनिधिमध्येबाट छ जना केन्द्रीय सदस्य निर्वाचित हुने व्यवस्था गरिएको छ।

७. समावेशी प्रतिनिधित्व विस्तार
अपाङ्गता भएका व्यक्ति, अल्पसंख्यक, पिछडिएको क्षेत्र, श्रमिक, प्रजातन्त्र सेनानी, सहिद परिवार तथा द्वन्द्वपीडितको प्रतिनिधित्व सुनिश्चित गर्ने व्यवस्था गरिएको छ।

८. २३२ सदस्यीय केन्द्रीय कार्यसमिति
नयाँ व्यवस्थाअनुसार कांग्रेसको केन्द्रीय कार्यसमिति २३२ सदस्यीय हुनेछ। १७१ जना निर्वाचित र ६१ जना सभापतिबाट मनोनीत हुने व्यवस्था छ।

९. प्यानल नबनाउने घोषणा
नेतृत्व चयनमा विगतमा जस्तो औपचारिक प्यानल बनाएर निर्वाचनमा जाने अभ्यास नगर्ने बताइएको छ।

१०. प्रदेशगत समूहमा बन्दसत्र
करिब सात हजार प्रतिनिधिलाई एउटै हलमा राख्नुको सट्टा प्रदेशगत तथा समूहगत रूपमा राजनीतिक, सांगठनिक र नीतिगत दस्तावेजमाथि छलफल गराउने तयारी गरिएको छ।

११. तीन संरचनामा बन्दसत्र
बन्दसत्रका लागि ‘हिमाल’, ‘पहाड’ र ‘तराई–मधेश’ नामका तीन ठूला संरचना तयार गरिएको छ।

१२. प्रतिवेदन डिजिटल रूपमा उपलब्ध
राजनीतिक तथा सांगठनिक दस्तावेज डिजिटल माध्यमबाट पनि प्रतिनिधिलाई उपलब्ध गराउने तयारी छ।

१३. छलफलको अभिलेख राखिने
महाधिवेशनमा प्रतिनिधिले राखेका धारणा, सुझाव र बहसलाई अभिलेखका रूपमा सुरक्षित गरिनेछ।

१४. डिजिटल मतदानको प्रयास
विद्युतीय मतदानको तयारी गरिए पनि प्राविधिक तथा व्यवस्थापकीय कारणले अन्तिम समयमा परम्परागत मतदान प्रणालीमै जाने भएको छ।

१५. प्रचारशैलीमा परिवर्तन
काठमाडौंमा ठूला गेट, होर्डिङ बोर्ड, तोरण तथा अत्यधिक झण्डा राख्ने शैलीलाई निरुत्साहित गरिएको छ। उम्मेदवारलाई डिजिटल माध्यमबाट प्रचार गर्न जोड दिइएको छ भने पर्चा छापेर मतदानस्थलमा वितरण गर्न नपाइने व्यवस्था गरिएको छ।

१६. उद्घाटन र बन्दसत्र एउटै स्थानमा
महाधिवेशनको उद्घाटन र बन्दसत्र काठमाडौंको खुलामञ्चमै गर्ने तयारी गरिएको छ।

१७. विपद्का कारण भड्किलो शैलीमा रोक
पछिल्लो प्राकृतिक विपद्लाई ध्यानमा राख्दै महाधिवेशनलाई अत्यधिक खर्चिलो र भड्किलो नबनाउने नीति कांग्रेसले लिएको छ।

१८. ‘कांग्रेस २.०’को बहस
नेतृत्व चयनसँगै पार्टीको आगामी राजनीतिक दिशा, संगठन सुधार र नयाँ पुस्ताको भूमिकाबारे बहसलाई प्राथमिकता दिइएको छ। ‘बदलियो कांग्रेस, बदल्छौँ देश’ र ‘कांग्रेस २.०’ जस्ता नारामार्फत नयाँ शैलीमा अघि बढ्ने सन्देश दिइएको छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend