जन आकाश
काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले दुई सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै अमेरिका पुगेका छन्। वासिङ्टन डीसीमा उनलाई कार्यवाहक राजदूत शरदराज आरन तथा दूतावासका पदाधिकारीहरूले स्वागत गरेका थिए।
भ्रमणका क्रममा अर्थमन्त्री वाग्लेले सोमबार अमेरिकी अर्थमन्त्री स्कट बेसेन्ट र विश्व बैंक समूहका अध्यक्ष अजय बङ्गासँग भेटवार्ता गर्ने कार्यक्रम रहेको उनको सचिवालयले जनाएको छ।
भेटवार्तामा द्विपक्षीय आर्थिक सहयोग, पुनर्निर्माण, नेपाललाई एफएटीएफको ग्रे लिस्टबाट बाहिर निकाल्ने पहल तथा बृहत् आर्थिक सुधारका विषयमा छलफल हुनेछ।
यस्तै, भोटेकोशी क्षेत्रमा आएको बाढीबाट क्षति पुगेका भौतिक तथा आर्थिक पूर्वाधारको पुनर्निर्माण र उत्थानशील विकासका लागि थप सहायता परिचालनबारे विश्व बैंक तथा अमेरिकी सरकारका प्रतिनिधिसँग छलफल हुने जनाइएको छ।
सडक, विद्युत् प्रसारण लाइनलगायत महत्वपूर्ण पूर्वाधारमा लगानी बढाउँदै नेपालमा रोजगारी तथा आर्थिक अवसर सिर्जना गर्ने विषय पनि भ्रमणको प्राथमिकतामा रहेको छ।
भ्रमणका क्रममा अर्थमन्त्री वाग्लेले अमेरिकी अन्तर्राष्ट्रिय विकास वित्त निगम (डीएफसी)का उच्चपदस्थ अधिकारी तथा निजी क्षेत्रका अग्रणी लगानीकर्तासँग समेत उच्चस्तरीय भेटवार्ता गर्ने कार्यक्रम रहेको छ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend