logo सोमबार, असोज १९ २०८३ | Monday 5th October 2026

९ राष्ट्रिय क्रिकेटर एक्सट्रिम इनर्जी ड्रिंकको ब्रान्ड एम्बेसडर, एनपीएलका ७ टोलीको विशेष क्यान सार्वजनिक


  • जन आकाश
  • सोमबार, असोज १९ २०८३

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका ९ चर्चित खेलाडी एक्सट्रिम इनर्जी ड्रिंकको ब्रान्ड एम्बेसडरका रूपमा आबद्ध भएका छन्।



काठमाडौंस्थित एभरेष्ट होटलमा आयोजित कार्यक्रममा एक्सट्रिम इनर्जी ड्रिंक र राष्ट्रिय टोलीका ९ खेलाडीबीच औपचारिक सम्झौता भएको हो। नेपाली क्रिकेटको विकास तथा खेलाडी प्रोत्साहनमा लगानी गर्दै आएको एक्सट्रिमले युवा पुस्तामा खेलकुदप्रतिको उत्साह र ऊर्जा बढाउने उद्देश्यले खेलाडीहरूसँग सहकार्य गरेको जनाएको छ।

सम्झौताअनुसार रोहित पौडेल, सन्दीप लामिछाने, सोमपाल कामी, आसिफ शेख, ललित राजवंशी, शेर मल्ल, इशान पाण्डे, करण केसी र लोकेश बम ‘टिम एक्सट्रिम’का सदस्य बनेका छन्।

सम्झौतापछि खेलाडीहरूले प्रयोग गर्ने क्रिकेट ब्याटमा एक्सट्रिम इनर्जी ड्रिंकको लोगो राखिनेछ। साथै, कम्पनीले आयोजना गर्ने विभिन्न प्रवर्द्धनात्मक, ब्रान्ड तथा खेलकुद गतिविधिमा पनि खेलाडीहरूको सहभागिता रहनेछ।

कार्यक्रममा नेपाल क्रिकेट संघ (क्यान)का उपाध्यक्ष रोशनकुमार सिंहले नेपाली क्रिकेट र खेलाडीप्रति एक्सट्रिमले गरेको लगानीको प्रशंसा गर्दै यस्तो व्यावसायिक साझेदारीले खेलाडीलाई आर्थिक रूपमा सबल बनाउन तथा नेपाली क्रिकेटको व्यावसायिक विकासमा सहयोग पुग्ने बताए।

एक्सट्रिम इनर्जी ड्रिंक्स ब्रान्ड तथा यसको मातृ कम्पनी एग्रो थाई फुड्स प्रालिका व्यवस्थापक कृष्ण दाहालले खेल क्षेत्रसँग जोडिन पाउँदा गौरवान्वित भएको बताउँदै आगामी दिनमा खेलाडी र कम्पनीबीचको सहकार्यलाई निरन्तरता दिने बताए।

कार्यक्रममा नेपाल प्रिमियर लिग (एनपीएल)लाई लक्षित गर्दै एक्सट्रिम इनर्जी ड्रिंकको विशेष संस्करणका क्यानसमेत सार्वजनिक गरिएको छ। एनपीएलमा मुख्य प्रायोजकका रूपमा आबद्ध आफ्ना ७ टोलीको पहिचान झल्काउने गरी कम्पनीले ७ फरक डिजाइनका क्यान सार्वजनिक गरेको हो।

सम्बन्धित टोलीका जर्सी, लोगो र समर्थकहरूको उत्साहलाई समेटेर तयार पारिएका विशेष क्यानले खेलाडी र समर्थकबीचको सम्बन्धलाई थप नजिक बनाउने कम्पनीको विश्वास छ। एक्सट्रिमले आगामी दिनमा क्रिकेटलगायत विभिन्न खेलकुद गतिविधिमा निरन्तर सहकार्य र सहभागिता जनाउने प्रतिबद्धता जनाएको छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend