काठमाडौं । हिमाली क्षेत्रमा बढ्दो जलवायुजन्य विपद्को जोखिमलाई अन्तर्राष्ट्रिय मञ्चमा उठाउँदै नेपाली संसदीय प्रतिनिधिमण्डलले तान्जानियाको अरूसा पुगेर अन्तरव्यवस्थापिका संघ (आईपीयू) सचिवालयसँग छलफल गरेको छ।
भोटेकोशी र त्रिशूली नदीमा आएको बाढी तथा हिमाली क्षेत्रमा जलवायु परिवर्तनका कारण बढ्दै गएको जोखिमलाई आधार बनाउँदै नेपालले आपत्कालीन एजेन्डाका रूपमा ‘हिमाली क्षेत्रमा जलवायुजन्य विपद् र उत्थानशीलता’ सम्बन्धी प्रस्ताव अघि सारेको हो।
छलफलमा विपद् जोखिम न्यूनीकरण, पूर्वतयारी, प्रभावित क्षेत्रको उत्थानशीलता बढाउने तथा अन्तर्राष्ट्रिय संसदीय सहकार्यलाई प्रभावकारी बनाउने विषयमा जोड दिइएको थियो।
उक्त प्रस्तावलाई आईपीयू महासभाबाट पारित गराउन नेपालले विभिन्न सदस्य राष्ट्रसँग समर्थन जुटाउने तयारी गरेको छ।
यसै क्रममा सभामुख डोलप्रसाद (डीपी) अर्याल नेतृत्वको नेपाली प्रतिनिधिमण्डलले अष्ट्रेलियाका सभामुख मिल्टन डिक नेतृत्वको टोलीसँग पनि भेटवार्ता गरेको छ। भेटमा नेपाल–अष्ट्रेलिया संसदीय सम्बन्ध, अनुभव आदानप्रदान तथा आगामी सहकार्य विस्तारबारे छलफल भएको थियो।