logo मंगलबार, असोज २० २०८३ | Tuesday 6th October 2026

काठमाडौं–४ को ११२ रोपनी जग्गा सरकारको नाममा कायम


  • जन आकाश
  • मंगलबार, असोज २० २०८३

काठमाडौं । सरकारी तथा सार्वजनिक जग्गा संरक्षण गर्ने अभियानअन्तर्गत काठमाडौं महानगरपालिका–४ मा रहेको ११२ रोपनी जग्गा नेपाल सरकारको नाममा कायम गरिएको छ।



सरकारी तथा सार्वजनिक जग्गा छानबिन एवं संरक्षणसम्बन्धी उच्चस्तरीय आयोग (रावल आयोग) को २०५२ सालको प्रतिवेदन कार्यान्वयन गर्ने क्रममा उक्त जग्गा सरकारको नाममा ल्याइएको हो।

भूमि प्रशासन कार्यालय डिल्लीबजारले रावल आयोगको प्रतिवेदनमा उल्लेख भएको क्षेत्रफल कट्टा गरी जग्गा नेपाल सरकारको नाममा कायम गरेको जनाएको छ। सरकारले आयोगले औंल्याएका सरकारी तथा सार्वजनिक जग्गामाथिको अतिक्रमण हटाई संरक्षण गर्ने प्रक्रिया समेत अघि बढाएको छ।

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयअन्तर्गत गठित प्रतिवेदन कार्यान्वयन समितिले अतिक्रमित भनिएका कित्ताबाट सम्बन्धित क्षेत्रफल कट्टा गरी सरकारको नाममा ल्याउने काम थालेको हो।

प्रमुख नापी अधिकृत रमेश ज्ञवालीको संयोजकत्वमा गठित समितिमा गृह तथा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका प्रतिनिधिसहित सम्बन्धित भूमि प्रशासन, नापी तथा स्थानीय तहका अधिकारीहरू सहभागी छन्।

रावल आयोगले २०५२ सालमा सरकारी तथा सार्वजनिक जग्गाको अवस्था अध्ययन गरी अतिक्रमित तथा व्यक्तिका नाममा दर्ता भएका जग्गा संरक्षण गर्न सुझावसहित प्रतिवेदन दिएको थियो। लामो समयपछि सरकारले उक्त प्रतिवेदन कार्यान्वयनमा ल्याउँदै आयोगले औंल्याएका जग्गाको छानबिन गरी सरकारको नाममा कायम गर्ने प्रक्रिया अघि बढाएको हो।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend