logo मंगलबार, असोज २० २०८३ | Tuesday 6th October 2026

पूर्वप्रधानन्यायाधीश चोलेन्द्रसँगको सम्पर्क र सूचना चुहावट आरोपमा एआइजी दाहाल निलम्बित


  • जन आकाश
  • मंगलबार, असोज २० २०८३

काठमाडौं । सुरक्षासँग सम्बन्धित संवेदनशील सूचना चुहाएको आरोपमा सशस्त्र प्रहरी बलका अतिरिक्त महानिरीक्षक (एआइजी) वंशीराज दाहाल निलम्बनमा परेका छन्।



गृह मन्त्रालयले सोमबार साँझ दाहाललाई निलम्बन गर्दै जाँचबुझ प्रक्रिया अघि बढाएको हो। गृह मन्त्रालयका प्रवक्ता आनन्द काफ्लेले जारी गरेको विज्ञप्तिमा दाहालले सुरक्षासँग सम्बन्धित संवेदनशील सूचना चुहावट गरी आचरणविरुद्धको कार्य गरेको भन्दै सशस्त्र प्रहरीबाट कारबाहीका लागि सिफारिस प्राप्त भएको उल्लेख छ।

दाहालले कस्तो सूचना, कसलाई र कुन प्रयोजनका लागि चुहाएको भन्ने विषय भने गृह मन्त्रालयले सार्वजनिक गरेको छैन। स्रोतका अनुसार पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणा पक्राउ परेकै रात दाहाल टेकुस्थित काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय पुगेको घटना र त्यसपछि झापाका इनाम सापकोटासँग भएको सम्पर्कमाथि अनुसन्धान केन्द्रित भएको थियो।

राणालाई असोज १० गते मध्यराति सुरक्षासम्बन्धी थ्रेट देखाउँदै प्रहरीले पक्राउ गरी करिब राति ३ बजे टेकुस्थित अपराध अनुसन्धान कार्यालय पुर्‍याएको थियो। सोही समयमा दाहाल पनि कार्यालय पुगेका थिए। राणा र दाहाल नातेदारसमेत रहेको बताइएको छ।

दाहाल राति अपराध अनुसन्धान कार्यालय पुगेको विषयमा नेपाल प्रहरीले प्रधान कार्यालय हुँदै गृह मन्त्रालयसम्म जानकारी गराएको स्रोतको भनाइ छ। गृहमन्त्री सुधन गुरुङसम्म रिपोर्ट पुगेपछि दाहालमाथि छानबिन अघि बढाइएको बताइएको छ।

राणालाई प्रहरीले करिब १२ घण्टा नियन्त्रणमा राखेर उनको फोनसमेत जाँच गरेको थियो। फोनबाट प्राप्त विवरणका आधारमा अनुसन्धान झापाका इनाम सापकोटासम्म पुगेको स्रोतको दाबी छ। केही दिनपछि विशेष ब्युरोको टोलीले सापकोटालाई नियन्त्रणमा लिएर सोधपुछ गरेको थियो।

अनुसन्धानका क्रममा सापकोटा र एआइजी दाहालबीच सम्पर्क रहेको खुलेको र उनीहरूबीच भएका कुराकानी तथा मेसेजसमेत अनुसन्धानको दायरामा परेको स्रोत बताउँछ। दाहालले सापकोटालाई सुरक्षासम्बन्धी संवेदनशील सूचना उपलब्ध गराएको प्रमाण भेटिएको दाबीसमेत स्रोतले गरेको छ।

त्यसपछि सशस्त्र प्रहरी बलको मुख्यालयले दाहालसँग स्पष्टीकरण सोधेको थियो। स्पष्टीकरण बुझाए पनि उनलाई कारबाहीका लागि गृह मन्त्रालयमा सिफारिस गरिएको बताइएको छ।

सापकोटालाई नियन्त्रणमा लिएर सोधपुछ गर्ने क्रममा उनले पूर्वप्रधानन्यायाधीश राणासँगको सम्बन्धबारे समेत बयान दिएको स्रोतको दाबी छ। सोधपुछका क्रममा सापकोटाले ‘चोलेन्द्रले आफूलाई प्रयोग गरेको’ बताएका थिए।

सापकोटा अहिले जिल्ला प्रहरी परिसर काठमाडौंको हिरासतमा छन्। अभद्र व्यवहारको कसुरमा उनलाई सात दिनको म्याद थप गरिएको छ।

स्रोतका अनुसार सापकोटाको दीपक भट्टसँग समेत सम्पर्क देखिएको छ। भट्ट हाल बन्दी प्रत्यक्षीकरणको मुद्दा लिएर सर्वोच्च अदालत पुगेका छन्। राणा र भट्ट दुवैसँग सापकोटाको सम्पर्क देखिएपछि मुद्दा मामिलामा चलखेलको प्रयास भएको हुनसक्ने आशंका गरिएको स्रोतको दाबी छ।

राणा पक्राउ परेपछि भट्टलाई गृह प्रशासनले नख्खु कारागारबाट सिन्धुपाल्चोक कारागारमा स्थानान्तरण गरिसकेको छ।

निलम्बनसँगै गृह मन्त्रालयले अर्का एआइजी अन्जनी पोखरेललाई जाँचबुझ अधिकृत तोकेको छ। पोखरेललाई तीन दिनभित्र जाँचबुझ पूरा गरी मन्त्रालयमा प्रतिवेदन बुझाउन भनिएको छ।

दाहाल चार वर्षे पदावधिका कारण असोज २७ गते अवकाशमा जाने तयारीमा थिए। नियमावलीमा रहेको पदावधि एक वर्ष थप गर्न सकिने व्यवस्थाअनुसार उनको म्याद थपका लागि सशस्त्र प्रहरी मुख्यालयले गृह मन्त्रालयमा प्रस्तावसमेत पठाइसकेको थियो।

तर अवकाशको आठ दिनअघि नै उनी निलम्बनमा परेका हुन्। सशस्त्र प्रहरी बलमा रहेका तीन एआइजीमध्ये दाहाल पनि एक हुन्। यसअघि भएको आइजिपी नियुक्तिको दौडमा समेत उनी थिए।

गृहमन्त्री सुधन गुरुङले दाहाल निलम्बन भएकै दिन सामाजिक सञ्जालमार्फत सूचना चुहावटलाई ‘देश र संगठनमाथि विश्वासघात’ भनेका छन्। उनले राज्यले सुम्पिएको गोपनीयतामाथि जानाजान विश्वासघात गर्ने जोसुकै भए पनि कानुनको दायरामा ल्याइने बताएका छन्।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend