logo मंगलबार, असोज २० २०८३ | Tuesday 6th October 2026

कांग्रेसको १५औँ महाधिवेशन : आज उम्मेदवारी दर्ता, ७ हजार ११४ प्रतिनिधि सहभागी


  • जन आकाश
  • मंगलबार, असोज २० २०८३

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत आज उम्मेदवारी दर्ता हुँदैछ। काठमाडौंको प्रदर्शनीमार्गस्थित राष्ट्रिय सभागृहमा निर्वाचन समितिले मनोनयन फारम वितरण तथा उम्मेदवारी दर्ताको प्रक्रिया अघि बढाएको छ।



निर्वाचन समितिका सदस्यसचिव राजु कटवालका अनुसार बिहान १० बजेपछि उम्मेदवारहरूलाई मनोनयन दर्ता फारम वितरण गरिएको हो। उम्मेदवारहरूले फारम भरेर आजै उम्मेदवारी दर्ता गर्नेछन्। उम्मेदवारी दर्ताका लागि साढे १२ बजेदेखि अपराह्न ४ बजेसम्मको समय तोकिएको छ।

१५औँ महाधिवेशनमा ७ हजार ११४ जना महाधिवेशन प्रतिनिधि सहभागी हुनेछन्। निर्वाचन समितिले राष्ट्रिय सभागृहमा कार्यालय स्थापना गरी निर्वाचनसम्बन्धी प्रक्रिया अघि बढाएको छ। महाधिवेशन प्रतिनिधिहरूको नामावलीसमेत राष्ट्रिय सभागृहको भित्री पर्खालमा टाँसिएको छ।

यसपटक कांग्रेसले केन्द्रीय कार्यसमितिको आकार १६७ सदस्यबाट बढाएर २९७ सदस्यीय बनाएको छ। सोमबार पारित संशोधित विधानअनुसार पदाधिकारीको संख्या पनि १४ बाट बढाएर २६ पुर्‍याइएको छ।

नयाँ व्यवस्थाअनुसार एक वरिष्ठ उपसभापति र एक महिला उपसभापति थपिएका छन्। अब कांग्रेसमा उपसभापतिको संख्या चार पुगेको छ। महामन्त्रीको संख्या तीन पुर्‍याइएको छ भने एक महिला महामन्त्री अनिवार्य गरिएको छ।

त्यस्तै, दुई खुला सहमहामन्त्री थपिएसँगै सहमहामन्त्रीको संख्या ११ पुगेको छ। प्रवक्ता पद पनि थप गरिएको छ भने आवश्यकताअनुसार सहप्रवक्ताको संख्या थप गर्न सकिने कांग्रेसले जनाएको छ।

यसअघि १४औँ महाधिवेशनमा कांग्रेसको केन्द्रीय कार्यसमिति १६७ सदस्यीय र पदाधिकारी संख्या १४ थियो। यसपटक महाधिवेशन प्रतिनिधिको संख्या तथा समावेशी सहभागिता बढेसँगै केन्द्रीय कार्यसमिति र पदाधिकारीको संख्या पनि विस्तार गरिएको कांग्रेसले जनाएको छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend