logo बिहिबार, असोज २२ २०८३ | Thursday 8th October 2026
logo

बिहिबार, असोज २२ २०८३ | Thursday 8th October 2026

मधेशमा १०० वटा ‘वर्ल्ड क्लास’ विद्यालय बनाउने सरकारको योजना


  • जन आकाश
  • बुधबार, असोज २१ २०८३

काठमाडौं । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले मधेश प्रदेशमा शिक्षाको गुणस्तर सुधार गर्न सुविधासम्पन्न तथा विश्वस्तरीय विद्यालय निर्माण गर्नुपर्ने बताएका छन्।



सिमरामा शिक्षा तथा खेलकुद मन्त्रालयद्वारा आयोजित उच्चस्तरीय संवाद कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री पोखरेलले मधेशका प्रत्येक जिल्ला र क्षेत्रमा गुणस्तरीय शिक्षा उपलब्ध गराउने उद्देश्यले नमुना विद्यालय स्थापना गर्ने सरकारको योजना रहेको बताए।

उनका अनुसार मधेशमा हाल सञ्चालनमा रहेका विद्यालयलाई रूपान्तरण गर्ने वा आवश्यकताअनुसार नयाँ स्थानमा विद्यालय स्थापना गर्ने गरी कम्तीमा १०० वटा ‘वर्ल्ड क्लास’ माध्यमिक विद्यालय निर्माण गर्ने अवधारणामा सरकार अघि बढिरहेको छ।

मन्त्री पोखरेलले प्रधानमन्त्रीसँग समेत मधेशमा विश्वस्तरीय विद्यालय स्थापना गर्ने विषयमा छलफल भएको जानकारी दिए। उनले भने, “मधेशमा कम्तीमा सय वटा वर्ल्ड क्लास स्कुल माध्यमिक तहसम्म सञ्चालन गर्ने गरी विभिन्न मोडालिटीमा काम गर्न सकिन्छ।”

दरबार हाइस्कुलजस्ता उत्कृष्ट विद्यालय मधेशमा पनि आवश्यक रहेको बताउँदै उनले विद्यार्थीलाई आधुनिक सुविधा र राम्रो शैक्षिक वातावरण उपलब्ध गराउनुपर्नेमा जोड दिए।

उनले विद्यालय निर्माण गर्दा जग्गाको उपलब्धता, भौगोलिक अवस्था, जनसंख्या तथा विद्यार्थीको चापलाई आधार बनाएर वैज्ञानिक ढङ्गले योजना बनाउनुपर्ने बताए। कतिपय स्थानमा शिक्षक–विद्यार्थी अनुपात नमिलेको र पर्याप्त भौतिक पूर्वाधारको अभाव रहेको भन्दै त्यसलाई समेत सम्बोधन गर्नुपर्ने उनको भनाइ थियो।

मन्त्री पोखरेलले काठमाडौंमा मात्र शिक्षा केन्द्रित नगरी मधेशका सबै जिल्ला र क्षेत्रमा विद्यार्थीले विश्वस्तरीय शिक्षा पाउने वातावरण निर्माण गर्न सरकार प्रतिबद्ध रहेको बताए।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend