logo शनिबार, कार्तिक ८ २०८३ | Saturday 24th October 2026

प्रहरीलाई काममा बाधा पुर्‍याएको आरोपमा रुकुम पश्चिमका वडाध्यक्ष पक्राउ


  • जन आकाश
  • बुधबार, असोज २१ २०८३

काठमाडौं । आठबिसकोट नगरपालिका–३ का वडाध्यक्ष केशरमान विक पक्राउ परेका छन्। प्रहरीलाई काममा बाधा पुर्‍याएको आरोपमा उनलाई मंगलबार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले जनाएको छ।



अभद्र व्यवहारसम्बन्धी जाहेरी परेका उनका भाइ वीरेन्द्र विकलाई पक्राउ गर्न प्रहरी टोली वडाध्यक्ष विकको घर पुगेको थियो। सो क्रममा वडाध्यक्षले प्रहरीलाई गालीगलौज तथा धकेलाधकेल गर्दै भाइलाई समेत भगाएको प्रहरीको दाबी छ।

प्रहरीका अनुसार वडाध्यक्ष विकले ड्युटीमा खटिएका प्रहरी कर्मचारीमाथि हातपात गर्नुका साथै कपडासमेत च्यातिदिएका थिए। त्यसपछि उनलाई घटनास्थलबाटै पक्राउ गरिएको प्रहरीले जनाएको छ।

वडाध्यक्ष विकविरुद्ध राष्ट्रसेवकलाई बाधा–विरोध गर्न नहुने कसुरमा जिल्ला प्रशासन कार्यालय मुसिकोटबाट तीन दिनको म्याद थप अनुमति लिइएको छ। उनलाई जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखेर घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार विक यसअघि पनि विभिन्न मुद्दामा पक्राउ परिसकेका छन्। २०७६ पुस ३ गते अभद्र व्यवहारसम्बन्धी मुद्दामा १० हजार रुपैयाँ धरौटीमा छुटेका थिए। २०७७ असार ५ गते ज्यान मार्ने उद्योगसम्बन्धी मुद्दामा पक्राउ परेका उनी जिल्ला अदालतको आदेशमा एक लाख रुपैयाँ धरौटीमा छुटेका थिए। यस्तै, २०७७ माघ ७ गते दर्ता भएको अर्को अभद्र व्यवहारसम्बन्धी मुद्दामा २४ हजार रुपैयाँ धरौटीमा छुटेको प्रहरीको विज्ञप्तिमा उल्लेख छ।

विक नेपाली कम्युनिस्ट पार्टीबाट वडाध्यक्ष निर्वाचित भएका हुन् भने उनी नेकपाको कर्णाली प्रदेश सदस्यसमेत रहेको बताइएको छ।

यता, नेकपा रुकुम पश्चिम कमिटीले भने प्रहरीले वडाध्यक्ष विकलाई झुक्याएर पक्राउ गरी कुटपिट गरेको आरोप लगाएको छ। वडासँग सम्बन्धित विषयमा छलफल गर्न भन्दै जिल्ला प्रहरी कार्यालयमा बोलाएर पुगेपछि बिना पक्राउ पुर्जी हतकडी लगाइएको कमिटीको दाबी छ।

नेकपा रुकुम पश्चिमले विज्ञप्ति जारी गर्दै प्रहरीको कुटपिटबाट वडाध्यक्ष विकको टाउको, अनुहार र घाँटीमा चोट लागेको दाबी गरेको छ। साथै, उनलाई गैरकानुनी रूपमा हिरासतमा राखिएको भन्दै तत्काल रिहा गर्न माग गरेको छ।

प्रहरी र नेकपा रुकुम पश्चिमले घटनाबारे फरक–फरक दाबी गरेका छन्। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend