logo शनिबार, कार्तिक ८ २०८३ | Saturday 24th October 2026

दसैंका लागि असोज २३ देखि अग्रिम टिकट बुकिङ खुल्ने


  • जन आकाश
  • बुधबार, असोज २१ २०८३

काठमाडौं । दसैंमा घर फर्किने यात्रुको चाप व्यवस्थापन गर्न सरकारले असोज २३ गतेदेखि सार्वजनिक सवारी साधनको अग्रिम टिकट बुकिङ खुला गर्ने भएको छ। यातायात व्यवस्था विभागले यातायात व्यवसायी, मजदुर संघ–संगठन, ट्राफिक प्रहरीलगायत सरोकारवालासँग छलफल गरी अग्रिम टिकट बुकिङ खुला गर्ने निर्णय गरेको हो।



यात्रुको चापअनुसार लामो तथा मध्यम दूरीका सवारी साधनलाई रिजर्भमा सञ्चालन गर्न फूलपातीदेखि पूर्णिमासम्म रुट परमिटसमेत खुला गरिएको विभागले जनाएको छ। दसैंका बेला ढुवानीका सवारी साधनले फलफूल, तरकारी, औषधि, खसी–बोका, अत्यावश्यक खाद्यान्न तथा अन्य आवश्यक सामग्रीलाई प्राथमिकताका साथ ढुवानी गर्नेछन्। अन्य सामग्रीको ढुवानी भने आवश्यकता हेरेर पछि सारिने विभागले जनाएको छ।

यात्रुलाई टिकट तथा भाडासम्बन्धी समस्या नहोस् भनेर विभिन्न स्थानमा यात्रु सहायता कक्ष स्थापना गरिएको छ। हाल १५ स्थानमा यस्ता कक्ष सञ्चालनमा रहेका छन्। बसपार्क, कोटेश्वर र बल्खुलगायत मुख्य स्थानमा यातायात व्यवस्था विभाग, यातायात व्यवसायी, मजदुर संगठन र ट्राफिक प्रहरी सम्मिलित कमिटीसमेत गठन गरिएको छ।

तोकिएकोभन्दा बढी भाडा लिएको, टिकटमा कालोबजारी गरेको वा अन्य कुनै समस्या भए यात्रु सहायता कक्ष वा ट्राफिक प्रहरीको १०० नम्बरमा जानकारी गराउन सकिने व्यवस्था गरिएको छ। विभागले तोकिएको भाडादरअनुसार मात्र टिकट बिक्री गर्न तथा बिचौलियामार्फत हुने कालोबजारी नियन्त्रण गर्न व्यवसायीलाई निर्देशन दिएको छ।

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष पुण्यप्रसाद सिटौलाले छोटो अवधिमा १५ देखि १६ लाख यात्रुको व्यवस्थापन गर्नुपर्ने भएकाले सबै पक्षबीच समन्वय आवश्यक रहेको बताए।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend