जन आकाश
काठमाडौं । सन सेक्युरिटिज प्रालिले मनी म्यानेजमेन्ट स्टक कम्युनिटीको सहकार्यमा इस्लिङ्टन कलेजका विद्यार्थीका लागि आयोजना गरेको ३० दिने शेयर बजार अनुकरण प्रतियोगिता सफलतापूर्वक सम्पन्न भएको छ।
भदौ ८ गतेदेखि सुरु भएको प्रतियोगिता ३० दिनसम्म सञ्चालन भएको थियो। विद्यार्थीलाई शेयर बजारको व्यावहारिक अनुभव प्रदान गर्ने उद्देश्यले आयोजना गरिएको प्रतियोगितामा सहभागीहरूले अनुकरणात्मक प्रणालीमार्फत शेयर खरिद तथा बिक्री गर्दै बजारको गतिशीलता, लगानी निर्णय, जोखिम व्यवस्थापन तथा लगानी समूह व्यवस्थापनसम्बन्धी ज्ञान हासिल गरेका थिए।
प्रतियोगिताका क्रममा विद्यार्थीहरूले बजारका गतिविधि तथा विभिन्न कम्पनीको प्रदर्शन विश्लेषण गरी लगानी तथा कारोबारसम्बन्धी निर्णय लिएका थिए। यसले विद्यार्थीमा शेयर बजारप्रतिको व्यावहारिक बुझाइ विकास गर्न तथा सैद्धान्तिक ज्ञानलाई व्यवहारिक अभ्याससँग जोड्न महत्वपूर्ण भूमिका खेलेको आयोजकले जनाएको छ।
अन्तिम नतिजाअनुसार अश्विना पाण्डे ले उत्कृष्ट प्रदर्शन गर्दै विजेताको उपाधि हासिल गरेकी छन्। उनले २५ हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गरिन्।
त्यस्तै, अरुण भण्डारी प्रथम उपविजेता हुँदै १५ हजार रुपैयाँ तथा सोनु गुमार द्वितीय उपविजेता हुँदै १० हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गरे।
युवा पुस्तामा वित्तीय साक्षरता, लगानीसम्बन्धी ज्ञान तथा पुँजी बजारप्रतिको व्यावहारिक बुझाइ अभिवृद्धि गर्ने उद्देश्यले यस्ता शैक्षिक तथा व्यावहारिक कार्यक्रमलाई प्राथमिकता दिँदै आएको सन सेक्युरिटिजले जनाएको छ।
शेयर बजार अनुकरणजस्ता कार्यक्रमले विद्यार्थीलाई वास्तविक रकम लगानी नगरी बजारको व्यवहार बुझ्न, लगानी रणनीति बनाउन तथा निर्णय क्षमता विकास गर्न सहयोग पुग्ने विश्वास गरिएको छ।
सन सेक्युरिटिजले प्रतियोगितामा सहभागी सम्पूर्ण विद्यार्थीलाई धन्यवाद दिँदै विजेता अश्विना पाण्डे, प्रथम उपविजेता अरुण भण्डारी र द्वितीय उपविजेता सोनु गुमारलाई बधाई दिएको छ।
साथै, प्रतियोगिता सफल बनाउन सहकार्य तथा सहयोग गर्ने इस्लिङ्टन कलेज र मनी म्यानेजमेन्ट स्टक कम्युनिटीप्रति पनि सन सेक्युरिटिजले आभार व्यक्त गरेको छ।
कम्पनीले आगामी दिनमा विद्यार्थी तथा युवा पुस्तालाई लक्षित गर्दै वित्तीय साक्षरता, पुँजी बजार शिक्षा तथा व्यावहारिक लगानी ज्ञान अभिवृद्धि गर्ने विभिन्न कार्यक्रम सञ्चालन गर्ने प्रतिबद्धता जनाएको छ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend