जन आकाश
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीले स्थानीय तहको निर्वाचनपछि महाधिवेशन गर्नेबारे छलफल अघि बढाएको छ। मंसिरमा महाधिवेशन गर्न सम्भव नहुने निष्कर्षसहित पार्टीले नयाँ कार्यतालिका ल्याउने तयारी गरेको हो।
यसअघि नेकपाले मंसिर ११ देखि १५ गतेसम्म काठमाडौंमा महाधिवेशन गर्ने निर्णय गरेको थियो। तर, पार्टीको सांगठनिक तथा अन्य तयारी पूरा हुन नसकेपछि उक्त कार्यतालिका प्रभावित भएको छ।
महाधिवेशनबारे निर्णय गर्न नेकपाका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले असोज २३ गते पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बैठक बोलाएका छन्। बैठकले महाधिवेशनको नयाँ कार्यतालिका र पार्टीको दुईमहिने अभियानबारे निर्णय गर्ने प्रवक्ता प्रकाश ज्वालाले बताएका छन्।
ज्वालाका अनुसार यसअघिको कार्यतालिका प्रभावित भइसकेकाले अब बस्ने बैठकले महाधिवेशनसहित पार्टीका आगामी कार्यक्रमबारे निर्णय गर्नेछ।
सदस्यता नवीकरण तथा वितरणलगायतका काम पूरा हुन नसकेकाले स्थानीय तहको निर्वाचनपछि मात्रै महाधिवेशन गर्ने विषयमा छलफल भइरहेको एक नेताले बताए। उनका अनुसार पार्टी नेतृत्वबीच यस विषयमा छलफल भइरहेको भए पनि अहिलेसम्म कुनै औपचारिक निर्णय भएको छैन।
पार्टी घोषणा भएको एक वर्ष पुग्न लाग्दा पनि सांगठनिक समायोजनको काम अझै पूरा हुन सकेको छैन। पार्टीका विभिन्न सांगठनिक संरचना अझै अलग–अलग रूपमा सञ्चालन हुँदै आएका छन्। स्थानीय तहको निर्वाचनको तयारीलाई प्राथमिकता दिँदै महाधिवेशनलाई पछि सार्नेबारे अब बस्ने बैठकले टुंगो लगाउने तयारी गरेको छ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend