logo शनिबार, कार्तिक ८ २०८३ | Saturday 24th October 2026

निर्वाचन प्रहरीको पोशाक खरिदबारे संसदीय उपसमितिको पहिलो बैठक बस्दै


  • जन आकाश
  • बुधबार, असोज २१ २०८३

काठमाडौं । निर्वाचन प्रहरी, नेपाल प्रहरी र सशस्त्र प्रहरी बल नेपालको पोशाक खरिदसम्बन्धी अध्ययन गर्न गठित संसदीय उपसमितिको पहिलो बैठक आज बस्दैछ। प्रतिनिधिसभाअन्तर्गतको सार्वजनिक लेखा समितिले १६ असोजमा निर्वाचन प्रहरीको पोशाक खरिदबारे अध्ययन गर्न उपसमिति गठन गरेको थियो। राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मनिष झाको नेतृत्वमा गठित ९ सदस्यीय उपसमितिको बैठक आज दिउँसो २ बजे बस्न लागेको हो। बैठकमा पोशाक खरिदसम्बन्धी विषयमा प्रारम्भिक छलफल गरिने समिति सचिवालयले जनाएको छ।



उपसमितिमा सांसदहरू ऐन महर, योगेश गौचन थकाली, आरेन राई, खगेन्द्र सुनार, खुश्बु ओली, रमेशकुमार मल्ल, गणेश धिमाल र महेन्द्रबहादुर शाही सदस्य छन्। उपसमितिलाई अध्ययनका लागि दुई महिनाको समय दिइएको छ।

नेपाल प्रहरीले गत माघमा निर्वाचन प्रहरीका लागि पोशाक खरिद गरेको थियो। उक्त खरिद प्रक्रियामा अनियमितता भएको दाबी गर्दै सांसद खगेन्द्र सुनारले निरन्तर प्रश्न उठाउँदै आएका छन्। डेढ महिनाका लागि नियुक्त निर्वाचन प्रहरीलाई कमसल सामग्री उपलब्ध गराइएको भन्ने प्रश्नसमेत उठेपछि त्यसबारे अध्ययन गर्न उपसमिति गठन गरिएको हो।

२१ फागुनको प्रतिनिधिसभा निर्वाचनका लागि नेपाल प्रहरीले १ लाख ३३ हजार ९८० जना र सशस्त्र प्रहरी बलले १५ हजार ११० जना निर्वाचन प्रहरी भर्ना गरेका थिए। दुवै निकायमा गरी कुल १ लाख ४९ हजार ९० जना निर्वाचन प्रहरी परिचालन भएका थिए। निर्वाचन प्रहरीका लागि भूगोलअनुसार प्रतिव्यक्ति न्यूनतम ५० हजार ९५४ रुपैयाँदेखि अधिकतम ८६ हजार ४८४ रुपैयाँसम्म खर्च भएको थियो। उनीहरूले ४० दिनको पारिश्रमिक, रासन, यातायात तथा खाजा खर्चबापत रकम पाएका थिए।

सरकारले निर्वाचन प्रहरीको पोशाकका लागि हिमाली क्षेत्रमा खटिने प्रहरीलाई प्रतिव्यक्ति ११ हजार ५००, पहाडी क्षेत्रमा ७ हजार ९४५ र तराईमा खटिने प्रहरीलाई ६ हजार १७० रुपैयाँका दरले रकम छुट्याएको थियो। प्रहरी अधिकारीका अनुसार पोशाक शीर्षकमा मात्रै करिब १ अर्ब रुपैयाँ निकासा भएको थियो।

यसका अतिरिक्त प्रहरी मुख्यालयले खटिएको स्थानमा जान–फर्कन तयारी खर्चबापत ८४८ रुपैयाँ तथा चारदिने तालिमका क्रममा खाजाका लागि एकमुष्ट १ हजार २०० रुपैयाँ उपलब्ध गराएको थियो। हाल विवादमा रहेको मुख्य विषय भने निर्वाचन प्रहरीको पोशाकका लागि छुट्याइएको रकम र त्यसअनुसार उपलब्ध गराइएको सामग्रीसँग सम्बन्धित छ। उपसमितिले खरिद प्रक्रिया, खर्च तथा पोशाकको गुणस्तरलगायत विषयमा अध्ययन गर्नेछ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend