logo बिहिबार, असोज २२ २०८३ | Thursday 8th October 2026
logo

बिहिबार, असोज २२ २०८३ | Thursday 8th October 2026

दसैं–तिहारमा मधेशमा कडा सुरक्षा, ७ हजार २२९ प्रहरी परिचालन हुने


  • जन आकाश
  • बुधबार, असोज २१ २०८३

काठमाडौं । दसैं, तिहार तथा छठ पर्वलाई लक्षित गर्दै मधेश प्रदेश प्रहरीले प्रदेशका आठवटै जिल्लामा विशेष सुरक्षा योजना लागू गरेको छ।



मधेश प्रदेश प्रहरी कार्यालय जनकपुरका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक प्रभुप्रसाद ढकालका अनुसार असोज २९ गतेदेखि कात्तिक ३० गतेसम्म प्रदेशका विभिन्न स्थानमा ७ हजार २२९ प्रहरी परिचालन हुनेछन्। सबैभन्दा बढी धनुषामा १ हजार ५९९ प्रहरी खटाइनेछ।

सुरक्षा योजनाअनुसार पर्सामा ६६१, बारामा ८७०, रौतहटमा ८६३, सर्लाहीमा ७९२, महोत्तरीमा ७४७, सिरहामा ६५१ र सप्तरीमा ८५७ प्रहरी परिचालन गरिनेछ। चाडपर्वका क्रममा सुरक्षा व्यवस्थापनका लागि १ हजार १२४ ड्युटी तोकिएको छ। यसअन्तर्गत ५ हजार ४८१ प्रहरी परिचालन हुनेछन्। १४ जिल्ला रिजर्भ, ९२ क्विक रेस्पोन्स टोली, १८ स्ट्राइकिङ टोली, ट्राफिकसहित ८७ चेकिङ टोली, ८६ मोबाइल गस्ती र १८० पैदल गस्ती परिचालन गरिनेछ।

त्यस्तै, शंकास्पद स्थानमा पिकेटिङका लागि ३३९, राजमार्गमा स्कर्टिङका लागि २९ र यात्रु सहायता कक्षका लागि ६४ ड्युटी तोकिएको छ।

भारत–नेपाल सीमा क्षेत्रमा चोरी तथा तस्करी नियन्त्रणका लागि ७३, धार्मिक तथा पर्यटकीय स्थलको सुरक्षाका लागि ३७, बजार अनुगमनका लागि २१ र कर्डन तथा खोजतलासीका लागि १८ ड्युटी परिचालन गरिने प्रहरीले जनाएको छ। सभा, जुलुस तथा धर्नाको आकस्मिक सुरक्षाका लागि १६ र विपद् प्रतिकार्यका लागि २२ टोली परिचालन हुनेछन्। सीमा नाकामा २८ वटा सहायता कक्षसमेत सञ्चालन गरिनेछ।

चाडपर्वका बेला सीमा नाकामा मानिसको आवतजावत बढ्ने भएकाले तस्करी तथा अवैध सामान ओसारपसार नियन्त्रणलाई पनि प्राथमिकतामा राखिएको प्रहरीले जनाएको छ।

त्यस्तै, धार्मिक स्थलमा हुने भीडभाडका क्रममा चोरी, लुटपाट तथा मानिस हराउने घटना रोक्न सुरक्षा व्यवस्था कडा पारिनेछ। छठ पर्वका बेला घाटमा डुब्ने तथा भीडजन्य दुर्घटना हुनसक्ने जोखिम, दसैंमा घर फर्किने र तिहारपछि बढ्ने आवतजावतका कारण हुनसक्ने सडक दुर्घटना तथा ट्राफिक जामलाई समेत सुरक्षा योजनामा समेटिएको छ।

पटका तथा आतिशबाजीबाट हुनसक्ने आगलागी, जुवा–तास तथा अवैध सट्टेबाजी, मादक पदार्थ सेवनबाट हुने झैझगडा, घरेलु हिंसा, पाकेटमारी, चोरी तथा लुटपाट नियन्त्रणमा पनि प्रहरीले निगरानी बढाउने जनाएको छ।

सुनचाँदी पसल, बैंक तथा नगद कारोबार हुने स्थानमा चोरी तथा डकैती, देउसी–भैलो र सांस्कृतिक कार्यक्रम तथा डिजेका कारण उत्पन्न हुनसक्ने रात्रीकालीन सुरक्षा चुनौती, धार्मिक कार्यक्रम तथा जुलुसबाट हुनसक्ने स्थानीय विवाद, महिला, बालबालिका तथा ज्येष्ठ नागरिकको सुरक्षा, अवैध मदिरा तथा लागुऔषध ओसारपसार, कालोबजारी र कृत्रिम अभाव नियन्त्रणलाई पनि सुरक्षा योजनामा समेटिएको छ।

सामाजिक सञ्जालमार्फत गलत सूचना फैलाएर तनाव सिर्जना गर्ने गतिविधि तथा आगलागी, विद्युत् सर्टलगायत आकस्मिक विपद्लाई समेत सुरक्षा चुनौतीका रूपमा पहिचान गरिएको प्रदेश प्रहरी कार्यालयले जनाएको छ।

प्रवक्ता ढकालका अनुसार थप जनशक्तिलाई कमान्ड पोस्ट, संयुक्त गस्ती, सादा पोसाकमा सूचना संकलन तथा आकस्मिक ड्युटीमा परिचालन गरिनेछ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend