काठमाडौं । काठमाडौंको काँडाघारीमा प्रहरीले गोली चलाएर लुटपाटमा संलग्न रहेको आरोप लागेका एक व्यक्तिलाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा आर्यन माझी रहेका छन्। उनलाई पक्राउ गर्न पुगेको प्रहरी टोलीमाथि नै आक्रमणको प्रयास भएपछि आत्मरक्षाका लागि गोली चलाइएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसएसपी दिलीप घिमिरेले जानकारी दिए।
प्रहरीका अनुसार माझी यसअघि पनि विभिन्न लुटपाटका घटनामा संलग्न रहेको खुलेको छ। पक्राउ गर्ने क्रममा उनले प्रहरीमाथि आक्रमण गर्न खोजेपछि स्थिति नियन्त्रणमा लिन गोली चलाइएको प्रहरीले जनाएको छ।
गोली लागेपछि माझीलाई प्रहरीले नियन्त्रणमा लिएर उपचारका लागि अस्पताल लगेको छ। घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ।