logo बिहिबार, असोज २२ २०८३ | Thursday 8th October 2026
logo

बिहिबार, असोज २२ २०८३ | Thursday 8th October 2026

ऊर्जा क्षेत्रमा उत्पादनदेखि विद्युत् व्यापारसम्म सुधारको पहल, २७ आयोजनाको म्याद थप


  • जन आकाश
  • बिहिबार, असोज २२ २०८३

काठमाडौं । नेपालको ऊर्जा क्षेत्रमा उत्पादन, प्रसारण र विद्युत् व्यापारलाई एकीकृत रूपमा अघि बढाउने पहल थालिएको छ। ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठको नेतृत्वमा रोकिएका आयोजना अघि बढाउने, निजी लगानी आकर्षित गर्ने र विद्युत्लाई आर्थिक वृद्धिको आधार बनाउने गरी काम अघि बढाइएको हो।



पहिलो चरणमा नेपाल विद्युत् प्राधिकरणले २७ आयोजनाको कुल ५४०.४७ मेगावाट क्षमताका लागि आयोजना सम्पन्न गर्ने मिति (आरसीओडी) थप गरेको छ। हाल निर्माणाधीन ३२० आयोजनाको कुल क्षमता ८ हजार २९२ मेगावाट रहेको छ। आयोजनाको प्रगति र पीपीए दायित्वका आधारमा वर्गीकरण गरी म्याद थप गरिएको हो।

त्यस्तै, पीपीए खुलाउने मापदण्डसम्बन्धी उपसमितिले प्रतिवेदन बुझाइसकेको छ। प्रसारणतर्फ पश्चिम सेती ४०० केभी लाइनलाई एएए मोडलमा अघि बढाइएको छ भने अन्य चार प्रसारण लाइनमा निजी तथा अन्तर्राष्ट्रिय कम्पनीको सहभागिताका लागि प्रतिस्पर्धात्मक प्रक्रिया अघि बढाइएको छ।

विद्युत् प्रसारणमा खुला पहुँचका लागि विद्युत् नियमन आयोगले आर्थिक वर्ष २०८३/८४ का लागि शुल्कसमेत निर्धारण गरेको छ। मध्यम तथा दीर्घकालीन पहुँचमा प्रतिमेगावाट प्रतिमहिना ४ लाख १३ हजार रुपैयाँ र अल्पकालीन पहुँचमा प्रतियुनिट ५७ पैसा शुल्क तोकिएको छ।

विद्युत् व्यापार विस्तारका लागि विद्युत् ऐन संशोधनको प्रक्रिया पनि अघि बढाइएको छ। निजी क्षेत्रका कम्पनीलाई विद्युत् व्यापारको बाटो खोल्न कानुनी व्यवस्था आवश्यक रहेकाले ऐन संशोधनपछि इजाजतपत्र दिने प्रक्रिया अघि बढ्नेछ। त्यस्तै, ऊर्जा भण्डारण प्रणाली (बीईएसएस) का लागि विद्युत् खरिद दर र निर्देशिका बनाउने विषयमा समेत काम भइरहेको छ।

यी व्यवस्था प्रभावकारी रूपमा कार्यान्वयन भए ऊर्जा आयोजनामा लगानी, रोजगारी, बैंकिङ क्षेत्रको लगानी तथा विद्युत् निर्यातबाट हुने आम्दानी बढाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ। तर आयोजनाको निर्माण, प्रसारण पूर्वाधार, पीपीए, कानुनी सुधार र ऊर्जा भण्डारणसम्बन्धी काम समयमै अघि बढाउनु चुनौतीपूर्ण देखिन्छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend