logo शनिबार, कार्तिक ८ २०८३ | Saturday 24th October 2026

दसैँमा तोकिएभन्दा बढी भाडा लिए कारबाही, यात्रुवाहक सवारीको निःशुल्क फिटनेस परीक्षण हुने


  • जन आकाश
  • बिहिबार, असोज २२ २०८३

काठमाडौं । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले दसैँलगायत चाडपर्वको समयमा सरकारले तोकेकोभन्दा बढी सवारी भाडा नलिन सम्बद्ध सबैलाई आग्रह गरेको छ। महासंघका महासचिव डेकनाथ गौतमले तोकिएभन्दा बढी भाडा लिने सवारीसाधनलाई कारबाही गरिने बताएका छन्।



सरकारले दसैँका लागि असोज २३ गतेदेखि देशभर यात्रुवाहक सवारीसाधनको अग्रिम टिकट बुकिङ खुला गर्ने निर्णय गरिसकेको छ। यात्रु तथा मालवाहक यातायातलाई सहज, व्यवस्थित र सुरक्षित बनाउन यातायात व्यवस्था विभाग, यातायात व्यवसायी महासंघ, मजदुर संघ–संगठन, प्रहरी प्रधान कार्यालय तथा ट्राफिक प्रहरीबीच समन्वय गरिएको छ।

महासंघले सातै प्रदेश, जिल्ला समिति तथा सदस्य संघ–संस्थालाई आवश्यक निर्देशन दिँदै टिकट बुकिङ काउन्टरमा खटिने कर्मचारीलाई अनिवार्य रूपमा तोकिएको पोसाक र परिचयपत्र लगाउन भनेको छ। यात्रुसँग नम्र व्यवहार गर्दै सहज रूपमा टिकट उपलब्ध गराउनसमेत निर्देशन दिइएको छ।

दसैँको भीड व्यवस्थापनका लागि असोज २५ गते घटस्थापनादेखि कात्तिक ८ गतेसम्म नारायणगढ–काठमाडौं सडकखण्डमा ट्रेलरलगायत ठूला सवारीसाधन सञ्चालनमा रोक लगाइनेछ। तर खाद्य सामग्री, औषधि, फलफूल तथा अन्य अत्यावश्यक सामग्री बोकेका सवारीसाधनलाई भने आवतजावतमा रोक नलगाइने भएको छ।

त्यस्तै, घटस्थापनादेखि कात्तिक १० गतेसम्म यात्रुवाहक सवारीसाधनका लागि देशभर लामो तथा मध्यम रुट परमिट खुला गरिएको छ। सडकको विशेष अवस्थाका कारण निश्चित आकार तथा प्रकारका सार्वजनिक सवारीसाधनमाथि लगाइएको प्रतिबन्ध भने यथावत् रहने महासंघले जनाएको छ।

काठमाडौं उपत्यकाका प्रमुख नाकामा स्थापना गरिएका यात्रु सहायता कक्षको अनुगमन तथा सहजीकरणका लागि यातायात व्यवस्था विभागले फोकल पर्सनसहितको टोली परिचालन गर्नेछ। महासंघले गोङ्गबु बसपार्क, कलङ्की, कोटेश्वर, गौशाला र चाबहिल क्षेत्रमा समेत जिम्मेवारी तोकेको छ।

यसैबीच, दसैँमा सञ्चालन हुने यात्रुवाहक सवारीसाधनको फिटनेस परीक्षणलाई प्राथमिकता दिइएको छ। यातायात व्यवस्था विभागको सवारी परीक्षण कार्यालय टेकुबाट प्राविधिक कर्मचारी खटाएर गोङ्गबु बसपार्कमै सवारीसाधनको निःशुल्क फिटनेस परीक्षण गर्ने व्यवस्था मिलाइने भएको छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend