logo शनिबार, कार्तिक ८ २०८३ | Saturday 24th October 2026

सरकारले बेपत्ता नागरिकलाई मृत घोषणा गर्ने अवधि १२ वर्षबाट घटाएर ४५ दिन बनायो


  • जन आकाश
  • बिहिबार, असोज २२ २०८३

काठमाडौं । सरकारले बेपत्ता भएका नागरिकलाई मृत घोषणा गर्नुपर्ने अवधि १२ वर्षबाट घटाएर ४५ दिनमा झारेको छ। बुधबार बसेको मन्त्रिपरिषद्को बैठकले विपद् व्यवस्थापनलाई ध्यानमा राख्दै यस्तो निर्णय गरेको सरकारका प्रवक्ता एवं शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले जानकारी दिए।



उनका अनुसार भोटेकोशी बाढीलगायत विपद्का घटनालाई ध्यानमा राखेर बेपत्ता नागरिकलाई मृत घोषणा गर्ने विद्यमान व्यवस्थालाई छोट्याइएको हो। यससम्बन्धी व्यवस्था समेटिएको विपद्सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश जारी गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णयसमेत मन्त्रिपरिषद्ले गरेको छ। त्यस्तै, राष्ट्रिय मानव अधिकार आयोगबाट क्षतिपूर्तिका लागि सिफारिस भएका १५३ जना पीडितलाई क्षतिपूर्ति उपलब्ध गराउन सरकारले स्वीकृति दिएको छ।

मन्त्रिपरिषद्ले पोर्चुगल सरकारलाई काठमाडौंमा कन्सुलेट जनरलको कार्यालय स्थापना गर्न सहमति दिने निर्णय पनि गरेको छ।बैठकले भूमिसम्बन्धी, वनसम्बन्धी तथा विपद्सम्बन्धी केही नेपाल ऐन संशोधन गर्ने अध्यादेश जारी गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको छ।

त्यसैगरी, सरकारले सहसचिव नवीनराज सिंहलाई नेपाल इन्जिनियरिङ सेवा समूहअन्तर्गत राजपत्राङ्कित विशिष्ट श्रेणीको सचिव पदमा, सहसचिव चक्रबहादुर बुढालाई नेपाल प्रशासन सेवा समूहअन्तर्गत सोही श्रेणीको सचिव पदमा बढुवा गर्ने निर्णय गरेको छ।

नेपाल लेखापरीक्षण सेवा समूहअन्तर्गत राजपत्राङ्कित विशिष्ट श्रेणीको उपमहालेखा परीक्षक पदमा नायब महालेखा परीक्षक चन्द्रकान्त भण्डारीलाई बढुवा गर्ने निर्णयसमेत मन्त्रिपरिषद्ले गरेको मन्त्री पोखरेलले जानकारी दिए।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend