logo शनिबार, कार्तिक ८ २०८३ | Saturday 24th October 2026

मन्त्री सीता बादी र अमेरिकी कार्यवाहक राजदूत बोल्डिनबीच भेटवार्ता


  • जन आकाश
  • बिहिबार, असोज २२ २०८३

काठमाडौं । महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक तथा सामाजिक सुरक्षामन्त्री सीता बादी र नेपालका लागि अमेरिकी कार्यवाहक राजदूत मेगन बोल्डिनबीच भेटवार्ता भएको छ।



भेटवार्तामा नेपाल–अमेरिका सम्बन्ध, रसुवालगायत बाढी प्रभावित क्षेत्रको पुनःस्थापना तथा पुनर्निर्माण, मानव बेचबिखन तथा ओसारपसार नियन्त्रण र सामाजिक विकासका क्षेत्रमा सहकार्य थप सुदृढ गर्ने विषयमा छलफल भएको हो। सो क्रममा कार्यवाहक राजदूत बोल्डिनले रसुवाको भोटेकोशीमा गएको बाढीमा परी ज्यान गुमाएकाप्रति श्रद्धाञ्जली व्यक्त गर्दै शोकसन्तप्त परिवारजनप्रति समवेदना प्रकट गरिन्। उनले बाढी प्रभावित समुदायको अवस्था तथा पुनःस्थापनाका प्रयासबारे चासो व्यक्त गर्दै नेपालसँग सहकार्य गर्ने प्रतिबद्धता जनाइन्।

मन्त्री बादीले नेपाल र अमेरिकाबीच सन् १९४७ देखि कायम कूटनीतिक सम्बन्ध पारस्परिक सम्मान, विश्वास, विकास सहकार्य र जनस्तरीय सम्बन्धमा आधारित रहेको बताइन्। उनले आगामी दिनमा दुई देशबीचको सहकार्य थप विस्तार हुने विश्वास व्यक्त गरिन्।

सन् २०२६ अगस्ट २६ मा नेपाल–तिब्बत सीमा क्षेत्रमा गएको बाढीबाट महिला, किशोरी तथा बालबालिकाको सुरक्षा, संरक्षण र शिक्षामा थप चुनौती सिर्जना भएको जानकारी दिँदै मन्त्री बादीले प्रभावित क्षेत्रको पुनःस्थापना र पुनर्निर्माणमा अमेरिकी सहयोग तथा सहकार्यको अपेक्षा व्यक्त गरिन्।

उनले बाढी प्रभावित समुदायको उद्धार, राहत, पुनःस्थापना तथा पुनर्निर्माणका लागि सरकारले उपलब्ध स्रोत, साधन र जनशक्ति परिचालन गरी काम गरिरहेको जानकारी दिइन्। मन्त्रालयले आफ्नो कार्यक्षेत्रभित्र जोखिममा रहेका महिला, बालबालिका, ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति तथा अन्य सीमान्तकृत समुदायको संरक्षण र सामाजिक सुरक्षालाई प्राथमिकतामा राखेको उनको भनाइ थियो।

भेटवार्तामा मानव बेचबिखन तथा ओसारपसार नियन्त्रणका विषयमा समेत विस्तृत छलफल भएको थियो।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend