logo बिहिबार, असोज २२ २०८३ | Thursday 8th October 2026
logo

बिहिबार, असोज २२ २०८३ | Thursday 8th October 2026

त्रिविको क्यालेन्डरमा मन्त्री पोखरेलको कडाइ, ढिलाइ भए कारण सार्वजनिक गर्न निर्देशन


  • जन आकाश
  • बिहिबार, असोज २२ २०८३

काठमाडौं । शिक्षा तथा खेलकुदमन्त्री एवं त्रिभुवन विश्वविद्यालयका सहकुलपति सस्मित पोखरेलले त्रिभुवन विश्वविद्यालयको शैक्षिक सुधारका लागि निश्चित शैक्षिक क्यालेन्डर, प्रभावकारी सुशासन र प्रविधिको अधिकतम प्रयोग अनिवार्य रहेको बताएका छन्।



कीर्तिपुरस्थित त्रिभुवन स्मृति भवनमा आयोजित त्रिवि सभाको ६७औँ वार्षिक दिवसको बैठकलाई सम्बोधन गर्दै मन्त्री पोखरेलले विश्वविद्यालयलाई समयसापेक्ष, अनुसन्धानमुखी र अन्तर्राष्ट्रियस्तरमा प्रतिस्पर्धी बनाउनुपर्ने बताए।

उनले प्रवेश परीक्षा, भर्ना, पठनपाठन, परीक्षा तथा नतिजा प्रकाशनदेखि मार्कसिट, ट्रान्सक्रिप्ट र प्रमाणपत्र वितरणसम्मका काम निर्धारित समयमै सम्पन्न गर्न पदाधिकारीलाई निर्देशन दिए। कुनै कारणले शैक्षिक क्यालेन्डर प्रभावित भए त्यसको कारण र सुधारको समयसीमासमेत सार्वजनिक गर्नुपर्ने उनको भनाइ थियो।

मन्त्री पोखरेलले परीक्षा प्रणालीलाई विद्यार्थीले कति लेख्यो भन्नेभन्दा कति सिक्यो र कस्तो क्षमता विकास गर्‍यो भन्ने मापन गर्ने गरी सुधार गर्नुपर्ने बताए। उनले रटेको ज्ञानभन्दा समस्या समाधान, सिर्जनशीलता, अनुसन्धान र व्यावहारिक दक्षतामा जोड दिन प्राध्यापकहरूलाई आग्रह गरे।

नेपालका सामाजिक, आर्थिक, सांस्कृतिक, वातावरणीय तथा प्राविधिक समस्याको समाधान खोज्ने अनुसन्धानलाई विश्वविद्यालयले प्राथमिकता दिनुपर्ने उनले बताए। ज्ञान उत्पादन र त्यसको प्रयोगबीचको दूरी घटाउन सके अनुसन्धानले राष्ट्रिय विकासमा थप योगदान पुर्‍याउने उनको धारणा थियो।

विश्वविद्यालय सुधारको केन्द्रमा विद्यार्थीलाई राख्नुपर्ने उल्लेख गर्दै मन्त्री पोखरेलले कृत्रिम बुद्धिमत्तालगायत नयाँ प्रविधिलाई चुनौतीका रूपमा मात्र नभई ज्ञान, अनुसन्धान र नवप्रवर्तनको अवसरका रूपमा प्रयोग गर्नुपर्ने बताए।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend