जन आकाश
काठमाडौं। ‘पकाउ है तिउन कराईमा’ गीतबाट अपार सफलता हासिल गरेपछि नेपाली लोकसंगीत क्षेत्रमा निरन्तर सक्रिय गायक तथा सर्जक राम थापा शिशिरले दशैं–तिहार विशेष गीत ‘पासपोर्ट झोलामा’ को म्युजिक भिडियो सार्वजनिक गरेका छन्।
दशैंको मुखैमा विदेश जानुपर्ने बाध्यता, गाउँघर, आमाबुबा, श्रीमती तथा छोराछोरीलाई छाडेर परदेशिनुपर्ने पीडा, आफ्ना रहर र सपना त्याग्नुपर्ने अवस्था तथा टाउकोभरि रहेको साहुको ऋणलाई गीतमा भावनात्मक रूपमा प्रस्तुत गरिएको छ।
गीतको थेगो ‘पासपोर्ट झोलामा, प्रदेश छिरि साहुको ऋण नतिरी फर्किन्न होला म’ ले हजारौँ नेपाली युवाको वास्तविक पीडालाई आवाज दिएको छ। आफ्नै रहरले भन्दा पनि परिवारको भविष्य सुनिश्चित गर्न र ऋणको बोझबाट मुक्त हुन परदेशिनुपर्ने बाध्यतालाई गीतले मार्मिक ढंगले चित्रण गरेको छ।
वैदेशिक रोजगारीसँग जोडिएको आर्थिक बाध्यता र पारिवारिक सम्बन्धको संवेदनशील पक्षलाई सरल शब्द तथा भावपूर्ण प्रस्तुतिमार्फत गीतमा उठाइएको छ। विशेषगरी दशैं–तिहारको समयमा घरपरिवारबाट टाढा प्रदेशमा रहेका नेपाली तथा विदेश जाने तयारीमा रहेका युवाको भावनासँग गीतले गहिरो सम्बन्ध स्थापित गर्ने देखिन्छ। यसले नेपाली समाजको एउटा तीतो यथार्थलाई उजागर गर्ने प्रयास गरेको छ।
गीतमा राम थापा शिशिरकै लय तथा शब्द रहेको छ भने राम थापा शिशिर र विश्वरी देवीको स्वर सुन्न सकिन्छ। गीतको संगीत संयोजन विनोद बाजुरालीले गरेका हुन्। खडक बाजुरालीले मिक्सिङ तथा मास्टरिङ गरेका छन् भने रेकर्डिङ सागर बाजुरालीले गरेका हुन्।
म्युजिक भिडियोमा अमिशा कुँवर, प्रेम भण्डारी, लक्ष्मण चौलागाईं, अम्बिका ढकाल, तीर्थ सेन्चुरी र विकास थापा मगरको अभिनय देख्न सकिन्छ। भिडियोको निर्देशन खमेश श्रेष्ठले गरेका हुन्। रामकृष्ण कँडेलले छायांकन, रेजिना खत्रीले मेकअप तथा कल्पेश विश्वकर्माले सम्पादन गरेका छन्।
गीतको भिडियो राम थापा शिशिर अफिसियल युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको हो। ‘पासपोर्ट झोलामा’ केवल विदेश जाने कथा मात्र नभई रोजगारीको खोजीमा घरपरिवारबाट टाढिन बाध्य नेपाली युवाको सामाजिक यथार्थ, पारिवारिक जिम्मेवारी र आर्थिक संघर्षलाई गीत तथा भिडियोमार्फत प्रस्तुत गर्ने प्रयास हो। दशैं–तिहारको परिवेशमा सार्वजनिक गरिएको यस गीतले परदेशमा रहेका नेपालीको मन छुने अपेक्षा गरिएको छ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend