logo शनिबार, कार्तिक ८ २०८३ | Saturday 24th October 2026

एआईजी वंशीराज दाहाललाई बर्खास्त गर्न सिफारिस


  • जन आकाश
  • शुक्रबार, असोज २३ २०८३

काठमाडौं । सशस्त्र प्रहरी बलका अतिरिक्त महानिरीक्षक (एआईजी) वंशीराज दाहाललाई बर्खास्तीसम्मको कारबाही गर्न सिफारिस गरिएको छ।



सुरक्षासँग सम्बन्धित संवेदनशील सूचना इनाम सापकोटासँग आदानप्रदान गरेको प्रमाण फेला परेपछि निलम्बनमा रहेका दाहालमाथि जाँचबुझ अधिकृतले बर्खास्तीसम्मको कारबाही सिफारिस गरेका हुन्।

गृह मन्त्रालय स्रोतका अनुसार जाँचबुझ अधिकृत एआईजी अञ्जनी पोखरेलले बिहीबार छानबिन प्रतिवेदन मन्त्रालयमा बुझाएका थिए। प्रतिवेदनमा सशस्त्र प्रहरी नियमावली, २०७२ अनुसार दाहाललाई सेवाबाट हटाउने वा बर्खास्त गर्न सकिने प्रावधान उल्लेख गरिएको छ।

प्रतिवेदनमा प्रधानमन्त्रीसँग सम्बन्धित संवेदनशील सूचना आदानप्रदान गरेको प्रमाणसमेत समावेश गरिएको स्रोतले जनाएको छ। दाहालको बयान पनि प्रतिवेदनसँगै संलग्न गरिएको छ। बयानका क्रममा उनले इनाम सापकोटासँग संवाद भएको स्वीकार गर्दै सापकोटा आफ्नो जिल्लाबासी भएको बताएका थिए।

सशस्त्र प्रहरी नियमावली, २०७२ को नियम ११० मा सामान्य तथा विशेष सजायको व्यवस्था छ। नियम ११३ मा प्रहरी कर्मचारीलाई सेवाबाट हटाउन वा बर्खास्त गर्न सकिने प्रावधान उल्लेख छ।

यसअघि गृह मन्त्रालयका प्रवक्ता आनन्द काफ्लेले विज्ञप्ति जारी गर्दै दाहालमाथि सुरक्षासँग सम्बन्धित संवेदनशील सूचना चुहावट गरी आचरणविपरीत कार्य गरेको आरोप लगाएका थिए।

पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणा पक्राउ परेपछि दाहाल राति नै काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय पुगेको विषयसमेत विवादमा आएको थियो। राणा र इनाम सापकोटासँगको सम्पर्कका विषयमा छानबिन भएपछि दाहाल निलम्बनमा परेका थिए।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend