logo शनिबार, कार्तिक ८ २०८३ | Saturday 24th October 2026

महाकालीको झोलुंगे पुल पुनर्निर्माण गर्न पूर्वगृहमन्त्री लेखकको आग्रह


  • जन आकाश
  • शुक्रबार, असोज २३ २०८३

काठमाडौं । नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखकले कञ्चनपुरस्थित महाकाली नदीमाथिको दोधारा चाँदनी र भीमदत्तनगर जोड्ने झोलुंगे पुलको अनुगमन गरेका छन्।



शुक्रबार बिहान पुलको अनुगमन गर्दै नेता लेखकले पुल भत्किएकामा दुःख व्यक्त गरे। उनले पुलको यथाशीघ्र पुनर्निर्माण तथा नियमित मर्मतसम्भारको व्यवस्था मिलाउन नेपाल सरकार र सम्बन्धित निकायसँग आग्रह गरे।

लेखकले उक्त पुल दोधारा चाँदनी वा कञ्चनपुरको मात्र नभई सिंगो देशकै ऐतिहासिक सम्पदा भएको बताए। कुनै समय दोधारा चाँदनीका बासिन्दाले नेपालको अन्य भूभागमा जान भारतीय बाटो प्रयोग गर्नुपर्ने बाध्यता रहेको स्मरण गर्दै उनले पुलले यस क्षेत्रलाई देशका अन्य भागसँग प्रत्यक्ष जोड्न महत्त्वपूर्ण भूमिका खेलेको उल्लेख गरे।

२०५६ सालमा कञ्चनपुरबाट पहिलोपटक सांसद निर्वाचित भएपछि तत्कालीन प्रतिनिधिसभामा आफूले महाकाली नदीमा झोलुंगे पुल निर्माणको प्रस्ताव राख्दा कतिपयले त्यसलाई असम्भव भन्दै ठट्टा गरेको लेखकले बताए। तर, नेपाल सरकारको बजेट, नेपाली प्राविधिक र निर्माणकर्ताको प्रयासमा पुल निर्माण सम्भव भएको उनको भनाइ छ।

उनका अनुसार यस पुलको निर्माणले नेपालका अन्य स्थानमा पनि लामो झोलुंगे पुल निर्माण गर्ने प्रविधिको विकास र विस्तारमा सहयोग पुर्‍याएको थियो।

ऐतिहासिक तथा रणनीतिक महत्त्व बोकेको पुलको संरक्षण, पुनर्निर्माण र नियमित मर्मतसम्भारमा सरकारले विशेष ध्यान दिनुपर्ने लेखकले बताएका छन्।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend