logo शनिबार, असोज २४ २०८३ | Saturday 10th October 2026
logo

शनिबार, असोज २४ २०८३ | Saturday 10th October 2026

पोखरा स्कुल बस दुर्घटनाको छानबिन गर्न पाँच सदस्यीय समिति गठन


  • जन आकाश
  • शुक्रबार, असोज २३ २०८३

काठमाडौं ।  पोखरामा भएको स्कुल बस दुर्घटनाको छानबिन गर्न पोखरा महानगरपालिकाले पाँच सदस्यीय समिति गठन गरेको छ।



महानगरपालिकाले वरिष्ठ शिक्षा अधिकृत बद्रीनाथ सुवेदीको संयोजकत्वमा समिति गठन गरेको हो। समितिमा मेकानिकल इन्जिनियर सरोज चालिसे, महानगर शिक्षा समिति सदस्य डोलराज पाण्डे, नगर प्रहरी निरीक्षक पुरुषोत्तम थापा र ट्राफिक सहायक निरीक्षक अमृत भट्टराई सदस्य रहेका छन्।

समितिले दुर्घटनाको कारण र घटनासँग सम्बन्धित विषयमा विस्तृत अध्ययन तथा छानबिन गरी पाँच दिनभित्र सत्यतथ्यसहितको प्रतिवेदन पेस गर्नेछ। साथै, विद्यालयका सवारीसाधनको सुरक्षा, विद्यार्थीको सुरक्षित आवागमन र आगामी दिनमा अपनाउनुपर्ने सावधानीबारे सुझावसमेत दिनेछ।

पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले विद्यार्थीको सुरक्षा सबैको साझा जिम्मेवारी भएको बताउँदै यस्ता घटना दोहोरिन नदिन विद्यालयका सवारीसाधनको नियमित जाँच, सुरक्षा मापदण्डको कडाइका साथ पालना र प्रभावकारी अनुगमन गर्न सम्बन्धित पक्षलाई आग्रह गरेका छन्।

पोखरा महानगरपालिका–२८, माझठानाबाट कालिका बोर्डिङ स्कुलका विद्यार्थी बोकेर आउँदै गरेको बस कालिकास्थित ओख्ले भीरमा दुर्घटना भएको थियो। बसमा विद्यार्थी, चालक र सहचालकसहित २२ जना सवार रहेकामा पाँच जनाको मृत्यु भएको छ भने अन्य घाइते भएका छन्।

घाइतेहरूको पश्चिमाञ्चल क्षेत्रीय अस्पताल र गण्डकी मेडिकल कलेजमा उपचार भइरहेको छ। दुर्घटनाको वास्तविक कारण पत्ता लगाई आगामी दिनमा यस्ता घटना दोहोरिन नदिन आवश्यक सुधारका उपाय सुझाउने उद्देश्यले महानगरले समिति गठन गरेको जनाएको छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend