logo शुक्रबार, असोज २३ २०८३ | Friday 9th October 2026
logo

शुक्रबार, असोज २३ २०८३ | Friday 9th October 2026

सुदूरपश्चिमका आठ स्थानमा सहुलियत मूल्य पसल, चिनी प्रतिकिलो १०० रुपैयाँ


  • जन आकाश
  • शुक्रबार, असोज २३ २०८३

काठमाडौं । चाडपर्वका बेला उपभोक्तालाई दैनिक उपभोग्य वस्तु सहुलियत दरमा उपलब्ध गराउने उद्देश्यले सुदूरपश्चिम प्रदेशका आठ स्थानमा सहुलियत मूल्य पसल सञ्चालनमा ल्याइएको छ।



साल्ट ट्रेडिङ कर्पोरेसनले कैलाली, कञ्चनपुर, डोटी, डडेलधुरा र बैतडीका विभिन्न स्थानमा पसल सञ्चालन गरेको हो। कैलालीको धनगढी, टीकापुर र अत्तरिया, कञ्चनपुरको महेन्द्रनगर र बेलौरी, डोटीको दिपायल, डडेलधुरा तथा बैतडीको पाटनमा सहुलियत मूल्य पसल सञ्चालन भइरहेका छन्।

सहुलियत पसलमा चिनी प्रतिकिलो १०० रुपैयाँमा बिक्री भइरहेको छ। बजार मूल्यभन्दा प्रतिकिलो २५ रुपैयाँसम्म सस्तोमा चिनी पाइने भएपछि उपभोक्ताको आकर्षण बढेको साल्ट ट्रेडिङले जनाएको छ।

साल्ट ट्रेडिङ कर्पोरेसन धनगढीका प्रमुख रूपबहादुर कुँवरका अनुसार तराईका सहुलियत पसलबाट एक जनालाई पाँच किलोसम्म र पहाडी जिल्लामा तीन किलोसम्म चिनी बिक्री गर्ने व्यवस्था गरिएको छ। धनगढीस्थित कार्यालय परिसरमा रहेको पसलबाट मात्रै दैनिक करिब २५ क्विन्टल चिनी बिक्री भइरहेको उनले जानकारी दिए।

त्यस्तै, सहुलियत पसलमा नुन प्रतिकिलो २४ रुपैयाँमा उपलब्ध गराइएको छ भने दाल, चामल र चिउरामा प्रतिकिलो सात रुपैयाँसम्म छुट दिइएको छ।

चाडपर्वका बेला दैनिक उपभोग्य वस्तुको माग र बजार मूल्य बढ्न सक्ने भएकाले उपभोक्तालाई राहत दिन सहुलियत मूल्य पसल सञ्चालन गरिएको साल्ट ट्रेडिङले जनाएको छ। यी पसल बिहान ९ बजेदेखि साँझ ५ बजेसम्म सञ्चालन भइरहेका छन्। उपभोक्ताले भने चाडपर्वमा मात्रै नभई वर्षभरि नै सहुलियत मूल्य पसल सञ्चालन गर्नुपर्ने माग गरेका छन्।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend